क्यामरूनमा आत्मघाती आक्रमण, २२ को मृत्यु

170
  •  
  •  
  •  

काठमाडौँ, ८ फागुन(एजेन्सी) : उत्तरी क्यामरूनमा चार आत्मघाती हमलाकारीहरूले एक बजार र विद्यालयमा आक्रमण गर्दा २२ जनाले ज्यान गुमाएका छन् भने कम्तिमा १ सय जना घाइते भएका छन् ।

समाचारमा जनाइए अनुसार मेमे गाऊँमा दुई आत्मघाती आक्रमणकारीले बजारमा आक्रमण गरेका थिए भने अन्य दुई आक्रमणकारीले नजिकै रहेको एक विद्यालयमा आक्रमण गरेका थिए । क्यामरूनका गर्भनर एम. बकारीले भने, ‘आक्रमणकारी बजारमा खानेकुराको फुटकर बिक्रेता बनेर आएका थिए । टोकोमबेर शहरको अस्पतालमा १ सय ५ जना घाइतेहरूको उपचार भइरहेको छ । यसमध्ये केही घाइतेको अवस्था गम्भिर रहेको छ ।’

बाँकी दुई हमलाकारीले टोकोमबेरको एक विद्यालयलाई निशाना बनाएका थिए । एक शिक्षकका अनुसार दुवै आक्रमणकारीले विद्यालय नजिकै करिब १ किलोमिटर टाढा झाँडीमा आफूलाई बिस्फोट गराएका थिए । बिस्फोटपछि विद्यालयमा भागदौड भएको थियो, तर कोही पनि घाइते नभएको समाचारमा उल्लेख गरिएको छ ।

नाइजेरिया स्थित इस्लामी समूह बोको हरामले उक्त आक्रमण गरेको आशंका गरिएको छ । आफ्नो ६ वर्षको विद्रोहमा बोको हरामले २० हजार भन्दा बढी मानिसलाई मारिसकेको छ ।


  •  
  •  
  •