चार दलको बैठकले फेरि जुटाउन सकेन सहमति

493
  •  
  •  
  •  

काठमाडौँ, १४ पुस (ओएनएस) : निर्णायक भनिएको प्रमुख दलहरुबीचको बैठक फेरि पनि निश्कर्षविहिन बनेको छ ।

दलहरुबीच संविधान निर्माणको बिषयमा तीब्र विवाद बढ्दै गएपछि सहमति जुटाउने प्रयासस्वरुप सोमबार मधेसी मोर्चासहित प्रमुख चार दलका शीर्ष नेताबीच छलफल भएपनि ठोस निर्णय गर्न असफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान नेपाली काँग्रेस, नेकपा (एमाले), एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच आइतबार कार्यदलले पेस गरेको सुझावमाथि छलफल भएपनि नेतहरुले कुनै निर्णय गनृ सकेनन् ।

बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले चार दलको बैठकमा विवादित विषयमा सकारात्मक छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको बताए ।

ओलीले भने “आज प्रधानमन्त्री, एमाओवादी अध्यक्ष र फोरम नेता गच्छदारबीचमा कुराकानी भयो । सहमति गर्दा नहुने कुरो छैन । कुराकानी टुङ्गिन्छ, टुङ्गिँदैन त म भन्न सक्दिनँ, लचकता नदेखाएकै पनि भन्न मिल्दैन तर धेरै ठाउँ आफ्नो हैसियतमा यताउति गरिहालेको स्थिति पनि होइन, त्यसो हुनाले अलिक जटिल अवस्था देख्छु ।”

बैठकमा सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा दलहरुबीच खुलस्त र लचकताका साथ छलफल गरी सहमति नजिकको अवस्थामा पुगेकाले पर्सि बुधबार पुनः बैठक बसेर टुङ्ग्याउने नेताहरुबीच सहमति भएको बताइएको छ ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले संविधान निर्माणका चारवटै विवादित विषयमा दलहरुबीच राम्रो र सकारात्मक छलफल भएको तथा बुधबार बस्नेगरि बैथठक सकिएको जनाकारी दिए ।

यसअघि बैठकबाट बाहिरिने क्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनालले चार दलबीच छलफल भए पनि सहमति हुने सम्भावना क्षीण बन्दै गएकाले अब प्रक्रियामा जानुको विकल्प नभएको प्रतिक्रिया दिएका थिए ।

दलहरुबीच राज्य पुनसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली लगायतका बिषयमा विवाद बढेपछि शीर्ष नेतृत्वले सहमतिबाट टुङ्ग्याउने प्रयास गरेपनि असफल हुँदा तोकिएको मितिमा संविधान बन्ने संभावना कमजोर बन्दै गएको छ ।


  •  
  •  
  •