भारतबाट ल्याउदै गरेको झन्डै चार लाख थान अन्तशुल्क स्टिकर बरामद, दुई भारतीयसहित पाँच पक्राउ, एक फरार

820
  •  
  •  
  •  

काठमाडौं, ८ चैत (अाेएनएस) : नेपालमा उत्पादित शीलबन्दी मदिराको बोत्तलमा आन्तरिक राजश्व विभागले टाँस्ने अन्तशुल्क स्टिकर ठूलो परिमाणमा बरामद भएको छ।

भारतबाट ल्याइएको नक्कली अन्तशुल्क स्टिकर सुनौली नाकामा चेकजाँचको क्रममा बरामद भएको हो। भारतको दिल्लीबाट अवैध रुपमा ल्याउदै गरेको ३ लाख ९९ हजार ८ सय ४० थान अन्तशुल्क स्टिकरसहित ५ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको युपी४३एइ१६८२ को गाडीमा शंकाकाे अाधारमा चेकजाँच गर्दा उक्त अन्तशुल्क स्टिकरसहित गाडीमा सवार ३ जनालाई रोहिणी गाउँपालिका ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका प्रमुख श्याम ज्ञवालीले बताए।

धनुषा मा रहेको सांग्रिला डिष्टीलरी कम्पनीमा पुर्याउनको लागि भारतको नौतनवा बस्ने ३२ वर्षीय मेल्मुद्दगद्दी मुसलमान, भारत महाराजगंज सुनौली बस्ने १८ वर्षीय समसुद्दिन मुसलमान र रुपन्देही सिद्धार्थनगर नगरपालिका १ बस्ने ४२ वर्षीय बिनोद सिंह तीन जना मिलेर गाडीमा ल्याइरहेको उक्त नक्कली अन्तशुल्क स्टिकर सुनौली नाकामा शंका लागि चेक जाँचका क्रममा प्रहरीले फेला परेको एसपी ज्ञवालीले बताए।

नक्कली अन्तशुल्क स्टिकर सहित पक्राउ परेका तीनै जनासँग सोधपुछको क्रममा उनीहरुले भने,‘हामी भरीया मात्र हौ, यो स्टिकर सांग्रिला डिष्टीलरी कम्पनीमा पुर्याउने हो’

प्रहरीलाई यो कुराको जानकारी हुनसाथ संलग्न थप व्यक्तिहरुको तत्काल खोजतलास गर्दै जादा धनुषामा रहेको साङग्रिला डिस्टिलरीका प्रवन्धक भवानी प्रसाद उप्रेती र प्रोडक्सन अफिसर कामेश्वर महतोलाई प्रहरीले धनुषा प्रहरीसंग समन्वय गरी पक्राउ गरेको हो। तर कम्पनीका संचालक कुशेश्वरप्रसाद शाह सम्पर्कमा नआइ फरार रहेको प्रहरीले जनाएको छ।
पाँचै जनालाई अदालतमा पेश गरी थप अनुसन्धानको लागि म्याद थप गराइएको प्रहरीले जनाएको छ।

शीलबन्दी मदिरा उद्योगले उत्पादन गर्ने मदिराको बन्द बोत्तलको बिर्कोमा टाँसिने अन्तशुल्क स्टिकर मदिरा उद्योगले अन्तशुल्क राजश्व र स्टिकरको शुल्क तिरेर उद्योगमा लागि आफै टाँस्ने गरेका छन्।

उद्योगका सन्चालकले आफुलाइ कति स्टिकर चाहिन्छ त्यसका लागि निवेदन दिन्छन् , त्यसपछि अन्तशुल्क कर र स्टिकरको दस्तुर तिरेर स्टिकर लैजान्छन्, आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुखले भने, ‘मदिराको गुणस्तर र परिणाम अनुसार अन्तशुल्क कर फरक फरक हुन्छ , स्टिकरको दस्तुर प्रति पिस ३२ पैसा मात्रै हो।’

अन्त शुल्क ऐन,२०५८ र मदिरा ऐन, २०३१ अन्तरगत उनीहरु विरुद्ध कारवाही हुने एसपी ज्ञवालीले बताए।


  •  
  •  
  •