काठमाडौं २३ मंसिर (ओएनएस) : संविधानका अन्तरवस्तुमा सहमति खोज्न आजदेखि चारपक्षीय छलफल सुरु हुँदैछ । विषेश कार्यदल बनाएर छलफल गर्ने दलहरुको तयारी छ । कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलको आज संयुक्त बैठक बस्न लागेको नेताहरुले बताएका छन् । अन्तरवस्तुमा सहमति खोज्न चार पक्षको छलफललाई निरन्तरता दिने हिजोको सहमति अनुसार आज छलफल हुन लागेको एमाले उपाध्यक्ष भीम रावलले बताए । उनका अनुसार आज छुट्टै कार्यदल पनि बन्नेछ ।
तीन दलको बैठकको प्रारम्भमा चारवटै पक्षका नेता सम्मिलित आठ सदस्यीय कार्यदल बनाउने छलफल भएको थियो। तीनदलबाट नाम तय भइसकेका छन् । तर मधेसी मोर्चाले कार्यदलको अर्थ नरहेकाले शीर्ष तहमै छलफल गर्न प्रस्ताव गरेको छ ।
कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री कृष्ण सिटौला र सभासद् राधेश्याम अधिकारी, एमालेका तर्फबाट उपाध्यक्ष भीम रावल र प्रमुख सचेतक अग्नि खरेल, एमाओवादीका तर्फबाट महासचिव कृष्णबहादुर महरा र खिमलाल देवकोटा रहने गरी छलफल भएको छ ।