उपराष्ट्रपतिमा ४ को उम्मेद्वारी दर्ता

177
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक(ओएनएस) : उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका साझा उम्मेद्वार नन्दकिशोर पुन पासाङसहित चार जनाको उम्मेदवारी दर्ता भएको छ । उपराष्ट्रपति पदका लागि पासाङसहित नेपाली कांग्रेसका अमियकुमार यादव, स्वतन्त्र सांसद अतहर कमाल मुसलमान र नेपाल परिवार दलका केन्द्रीय सदस्य दयाराम कँडेलको उम्मेद्वारी दर्ता गरेका छन् ।

प्रधानमन्त्री तथा राष्ट्रपति निर्वाचनमा परिवार दलले सत्तारुढ दलको उम्मेद्वारलाई सहयोग गरेपनि उपराष्ट्रपतिमा आफ्नै उम्मेदवार खडा गरेको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले सत्तारुढ दलले समयमै निर्णय गर्न नसकेका कारण आफूहरुले उम्मेद्वारी दिएको बताए । उनले आफ्नो दलको उम्मेद्वारी फिर्ता नहुने भन्दै सबै दलसँग सहयोगको आग्रह गरिने बताए ।

अतहर कमाल मुसलमानले पनि उपराष्ट्रपतिमा उम्मेद्वारी दर्ता गराएका छन् । उनलाई सहयोग गरेका अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले संधिवानले समानुपातिक समावेशीताको सिद्धान्तलाई स्विकार गरेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न मुलसमानलाई सहयोग गरेको बताए । यसअघि मुसलमान, खड्का र लोकमणि ढकालले कांग्रेस उम्मेद्वारलाई सहयोग गरेका थिए।

मुलसमानको उम्मेद्वारी फिर्ता नभए नेपाली कांग्रेसका उम्मेद्वारको भोट काटिने छ भने परिवार दलका उम्मेद्वारको उम्मेद्वारी फिर्ता नभए सत्तारुढ दलका उम्मेद्वारीको भोट काटिने छ । स्रोतका अनुसार परिवार दल र मुसलमानको उम्मेद्वारी फिर्ता हुने संभावना छ ।


  •  
  •  
  •