बढि यात्रु बोक्ने ३६ चालक तथा सहचालक पक्राउ

321
  •  
  •  
  •  

काठमाडौ, २४ मंसिर । क्षमताभन्दा बढी यात्रुका कारण १८ जनाको मृत्यु हुने गरी आइतबार साँझ बस दुर्घटना भएपछि सुर्खेतमा प्रहरीले यात्रुवाहक सवारीसाधनमा निगरानी गर्न थालेको छ । जिल्लामा चल्ने यात्रुबसमै चढेर सादा पोसाकमा प्रहरीले निगरानी थालेको हो ।

क्षमताभन्दा दोब्बर यात्रु बोक्दासमेत प्रहरीले बेवास्ता गर्दा भार थेग्न नसकेर आइतबार बस भीरबाट खसेको पुष्टि भएपछि प्रहरीले यात्रुबसमा निगरानी सुरु गरेको हो । आइतबारको दुर्घटनापछि कडा रूपमा प्रस्तुत भएको सुर्खेत प्रहरीले मंगलबार सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तीन दर्जन सवारीसाधन र तिनका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले जिल्लाका स्थानीय रुट तथा कर्णाली राजमार्ग, रत्न राजमार्ग, सुर्खेत-दैलेख सडक खण्ड र छिन्चु-जाजरकोट सडक खण्डका विभिन्न स्थानमा छड्के जाँच सुरु गरेको छ । जाँचका क्रममा मंगलबार जिल्लाका विभिन्न स्थानबाट सिट क्षमताभन्दा बढी यात्रु बोक्ने २९ बस, चार माइक्रो, एउटा जिप र एउटा मिनिट्रक्र नियन्त्रणमा लिइएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक राजेशलाल कर्णले नियन्त्रणमा लिइएका चालक र सहचालकलाई पनि पक्राउ गरिएको जानकारी दिए । केन्द्रबाटै कडा निर्देशन आएको उल्लेख गर्दै उनले थपे, ‘क्षमताभन्दा बढी यात्रु बोक्नेलाई छोड्दैनौं, नियन्त्रणमा लिइएका सवारीसाधन, चालक र सहचालकलाई कडा कारबाही हुन्छ ।’

दर्जनौं सवारीसाधन नियन्त्रणमा लिइएका कारण जिल्ला प्रहरी कार्यालयमा सवारीसाधन राख्ने ठाउँसमेत कम भएको छ। चलानीमा सिट क्षमताअनुसार नै यात्रु लिए पनि चालकले बीच बाटोमा बढी यात्रु चढाउन सक्ने भन्दै यात्रुबसमै सादा पोसाकमा प्रहरी खटाएको कर्णले बताए । कर्णले मदिरा सेवन गरेर सवारी चलाएको पाइए पनि सार्वजनिक मुद्दा चलाउने बताए ।


  •  
  •  
  •