माघ ८ कटेपछि विपक्षीहरू केही आशावादी

61
  •  
  •  
  •  

काठमाडौं १० माघ ।
एमाओवादी, मधेशीसहित विपक्षी दललाई कांग्रेस, एमालेले दुई तिहाइबाट माघ ८ मा संविधान जारी गर्ने त्रास हटेको छ । छोटो प्रक्रियाबाट दुई तिहाइ बहुमतबाट संविधान जारी भए आफ्ना एजेण्डा नपर्ने आशंकाले बिपक्षीहरु माघ ८ अर्थात् बिहीबार राति १२ बजेसम्म जसरी पनि प्रक्रिया रोक्न लागेका थिए ।

विपक्षीले शुक्रबार संविधानसभा अवरुद्ध गरे पनि केही नरम देखिए । प्रश्नावली समिति बनाउन प्रक्रिया थालेका संविधानसभा अध्यक्ष सुभास नेम्वाङलाई भेटेर आइतबारसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरे । नेम्वाङले पनि सहमति हुन्छ भने ‘ठिकै छ’ भन्दै बिपक्षीको आग्रह स्वीकार गरी आइतबारसम्म बैठक स्थगित गरे । शुक्रबार संविधानसभा भवनमा प्रमुख दलका नेताबीच देखाभेट भए पनि गतिरोध हटाउन छलफल हुन सकेन ।

‘आइतबारसम्म बैठक स्थगित गरी सहमतिको प्रयास गरौ भनेर हामीले सभाअध्यक्षलाई आग्रह गरेका हौ’ एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले भने, ‘मुलुकलाई नयाँ मुठभेड जानबाट बचाउनु हामीले आग्रह गरेका छौ ।’

बिपक्षीलाई सहमति बिना संधिवानसभामा प्रश्नावली समिति बने त्यो बहुमतीय प्रक्रियामा जाने आशंका छ । त्यसो भए प्राप्त उपलब्धी गुम्ने उनीहरुको तर्क छ । उनीहरुले सभामुखलाई नयाँ कार्यतालिका बनाएर सहमतिको लागि पहल गर्न आग्रह गरेका छौ । ‘नयाँ कार्यतालिकाबिना संविधानसभा अघि बढ्न सक्दैन, त्यसकारण त्यसको पहल सुरु गर्न भनेका छौ’ भट्टराईको भनाइ छ, ‘अनौठो कुरा के छ भने उल्टै सत्तापक्ष वार्ताका लागि तयार भएका छैनन् । बिपक्षीले वार्ताका लागि जोड दिइरहेका छौ ।’

विपक्षीले संविधानसभा अवरुद्ध गरिरहेको अवस्थामा वार्ता नगर्ने सत्तापक्षले बताउदै आए पनि शनिबार गतिरोध फुकाउन दलहरुबीच प्रयास हुने छ । ‘सहमतिका लागि हामी वार्ता गर्न तयार छौ’ उनले भने । एमाले अध्यक्ष केपी शर्मा ओली संविधानसभा अवरुद्ध भएको अवस्थामा बिपक्षीसंग वार्ता हुन नसक्ने भन्दै संविधानसभामै झर्किएको एक नेताले बताए । ‘संविधानसभा अवरुद्ध भएको अवस्थामा के वार्ता ?’ एक नेताले सुनाए । बिपक्षीहरु वार्ताको वातावरण बनाउन सभाध्यक्षलाई आग्रह गरेका छन् ।

एमालको ठूलो दबावमा सभाध्यक्ष नेम्वाङ परेको हुनाले नचाहादा नचाहदै पनि प्रक्रिया अघि बढाउन बाध्य भएको बिपक्षीको बुझाइछ । अब नेम्वाङले सत्तापक्षको दबाव थेग्न कठिन हुने भएकाले गतिरोध झन् बढ्ने आशंका उनीहरुको छ ।

‘सभाध्यक्षमाथि एमालेबाट ठूलो दबावबीच यहासम्म ल्याएको देखिन्छ, सायद अब उहाँ थेग्न सक्ने अवस्थामा हुनुहुन्न’ बिपक्षी दलका एक नेताले भने, ‘बिपक्षीको आग्रहमा सभाध्यक्षले आइतबारसम्म बैठक स्थगित गरी केही लचकता देखाए पनि सत्तापक्षको दबावका कारण प्रक्रिया अघि बढाए भिडन्तको खतरा देखिन्छ ।’

संविधानसभामा प्रश्नावली समिति बनाउने प्रक्रिया अघि बनाउनेबारे प्रमुख दलबीच कुनै न कुनै समझदारी बने संविधान निर्माणका लागि नयाँ कार्यतालिका बन्ने छ । त्यो कार्यतालिका अनुसार अघि बढा दुई तिहाइ बहुमतको मारमा आफू कम पर्न सक्ने अनुमान विपक्षीले गरेका छन् । माघ ८ सम्मको कार्यतकालिका समाप्त भएको अवस्थामा नयाँ कार्यतालिका बनाउन सबै दल सहमत छन् । तर संविधानसभामा देखिएको गतिरोध अन्त्य गर्ने बाटो नभेटिएकाले त्यसमा प्रवेश गर्न सकेका छैनन् । संविधाधनसभामा प्रश्नावली समिति बनाउने प्रक्रिया सुरु भइसकेको हुनाले त्यसको टुंगो लगाउन दलहरुबीच केही न केही समझदारी हुन आवश्यक छ ।

प्रमुख दलहरुबीच सहमतिमा संविधान बनाउन अन्तराष्ट्रिय समुदायको बल पाएका बिपक्षीहरुलाई दुई तिहाइ बहुमतका आधारमा संविधान बने आफ्ना सबै बिशेष गरी संघीयताको एजेण्डामा हार हुने आशंका छ । त्यसकारण विपक्षीले बिगतका सहमति र सम्झौताका आधारमा संविधान बन्नुपर्ने बताउँदै आएका छन् । ‘बिगतका सहमति र सम्झौताका आधारमा संविधान निर्माण प्रक्रिया अघि बढ्नुपर्छ’ भट्टराईको भनाइ छ, ‘त्यसका लागि दबाव दिंदा संविधान बिरोधी कसरी हुन्छ ?’

एमाओवादी महासचिब कृष्णबहादुर महराले आइतबार एक बजेससम्म दलहरुबीच केही न केही सहमतिको वातावरण बन्ने बिश्वास गरे । ‘आइतबारसमम यस्तै अवस्था रहनु हुँदैन, सहमतिको प्रयास अवश्य हुनेछ’ उनको भनाइ छ । उनले दलहरुले तत्काल नयाँ कार्यतालिका बनाएर जानु उत्तम विकल्प भएको जनाए ।

संविधानसभाको बैठक स्थगित भएपछि बाहिरिदै गर्दा मधेशी मोर्चाका नेता बिजयकुमार गच्छदार बढी आशावादी देखिए । ‘आइतबारसम्म हामी बिश्वासको वातावरण बनाउँछौ, तपाई सकरात्मक हुनुहोस्’ उनले भने, ‘बैठक सुचारु गर्ने प्रयास हुन्छ ।’ सहमतिमै संविधान बनाउने प्रयास शुक्रबारदेखिनै सुरु हुने उनको भनाइ थियो ।

कान्तिपुरबाट


  •  
  •  
  •