सरकारले सर्वाेच्चको फैसला सच्याउने भएपछि एमाओवादी सहमतिका लागि तयार

167
  •  
  •  
  •  

काठमाडौ, ७ बैशाख (ओएनएस) : गत माघ १४ को सत्यनिरुपण तथा मेलमिलाप आयोगका विषयमा सर्वाेच्चले गरेको फैसला सच्याउन सरकारले निवदेन हाल्ने सहमति गरेपछि एकीकृत माओवादी संविधानका विवादीत विषयमा सहमतिका लागि तयार भएको छ ।

सोमबार विहान बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले निवेदन फैसला पुनरावलोकनका लागि तयार रहेको बताएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानका विवादीत विषयमा अघि बढ्न तयार रहेको बताएका थिए ।

सर्वोच्चको फैसला सच्याउन सरकारमा रहेका दल तयार भएपछि ६ प्रदेशमा सैद्धान्तिक सहमति गरेर अघि बढ्न एमाओवादी तयार भएको छ । गत माघ चार गते साँझ सहमतिमा पुगेका दलहरु पाँच गते एकाएक सहमतिबाट बाहिर आएका थिए । विशेष गरी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको सम्झौता स्वीकार नगर्ने भन्दै तमलोपा अध्यक्ष महन्थ ठाकुरले विमति जनाएपछि पाँच गतेको सहमति भाँडिएको एक नेताले बताए ।

पाँच गतेको सहमति भाँडिएपछि ‘म मेरो विवेकले एउटा प्रस्ताव राख्छु, उपयुक्त लागेमा मान्नुहोला’ भन्दै आठ गते फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले प्रस्ताव राखेका थिए । ‘निर्वाचन प्रणालीमा मिश्रीतमै जाने, न्याय प्रणालीमा पनि १० वर्ष संबैधानिक अदालत राखेर नैं जाने, शासकीय स्वरुपमा पनि एमाओवादीले विपक्षमा मतदान गर्नेगरी प्रक्रियामा लैजाउ’ गच्छदारले भनेका थिए, ‘संघीयताका सवालमा यति प्रदेश भनेर सहमति गरेर जनतामा जाउ, बाँकी विषय संघीय आयोगले टुंग्याउने छ ।’

६ प्रदेशमा जाने सैद्धान्तिक सहमति
त्यतिबेला गच्छदारको प्रस्ताव अस्वीकार गरेको एमाओवादीले अहिले त्यही विषयमा सहमति जनाएको छ । प्रमुख दलहरुबीच ६ प्रदेशमा जानेगरी सैद्धान्तिक सहमति गरेर १० गतेसम्म बाँकी विषयलाई ठोस सहमतिका रुप दिने सहमति भएको छ ।

सहमतिका लागि प्रधानमन्त्री इण्डोनेसिया गएकाले कांग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमालेबाट अध्यक्ष केपी शर्मा ओली र एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहालले १० गतेसम्मको समय लिएका छन् ।

‘हामीले कम प्रदेश बनाउन सात प्रदेशमै सहमतिमा आउनुस्, हैन भने ७ प्रदेशका विषयमा सैद्धान्तिक सहमति गरौ भनेका छौं’ कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने, ‘उहाँहरु त्यसकै सेरोफेरोमा सैद्धान्तिक सहमति गरे अघि बढ्न सहमत हुनुभएको छ ।’

एमाले प्रमुख सचेतक अग्नी खरेलले पनि सैद्धान्तिक सहमति भएको भन्दै प्रक्रियामा सहमति हुन्छ भनेर विश्वास बढेको बताए । उनले प्रदेशका विषयमा कति प्रदेश हो त भन्ने विषयमा कुनै सहमति नभएको बताए ।

‘विहानको बैठक सहमति नजिक पुगेको छ, सहमतिका विषयलाई अघि बढाउनुपर्छ भनेर हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशील कोइरालाले राख्नुभयो ।’ खरेल भने, ‘प्रचण्डले पनि सहमति अघि बढाउनुपर्छ भनेर भन्नुभएको छ ।’  कति प्रदेशमा सद्धान्तिक सहमति भयो त ? खरेल भन्छन्, ‘कति प्रदेश होइन, प्रदेशको प पनि उच्चारण भएको छैन । ’

खरेलले संघीयताका विषयमा अहिले सैद्धान्तिक सहमति मात्र गरेरअघि बढ्ने विषयमा सहमति भएको बताए । ‘संघीयताका विवादीत विषलाई छलफल गरौं, उपयुक्त समयमा सहमति गरौ भन्ने भएको छ’ उनले भने, ‘ सहमति भएन भने प्रक्रियाबाट अघि बढाउ भन्ने भएको छ ।’


  •  
  •  
  •