सुनुवाई समितिको गठनका लागि भएको दलहरूबीचको छलफल सहमतिबिहिन

235
  •  
  •  
  •  

काठमाडौँ, १९ वैशाख(ओएनएस) : संसदीय सुनुवाई विशेष समिति गठनका लागि सहमति जुटाउन सभामुख ओनसरी घर्तीले गरेको शीर्ष नेतासँगको छलफल बिना सहमति टुङ्गिएको छ ।

सभामुख घर्तीले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई बोलाएर संसदीय सुनुवाइ विशेष समितिका विषयमा छलफल गरेकी हुन् ।

छलफलका क्रममा नेताहरूले नियमावली मस्यौदा समितिको सोमबार बस्ने बैठक अगाडि नै कुनै निष्कर्षमा पुग्ने बताएको सभामुख घर्तीले जानकारी दिएकी छन् ।

तीन दलका नेताहरुको मत बाझिएका कारण समिति गठनको विषयमा कुरा नमिल्दा नियमावली बनाउन ढिलो भएको र त्यसको असर प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी तथा राजदूतको नियुक्तिमा परेको सभामुख घर्तीले बताइन् ।

सभामुख घर्तीले नियमावलीका सम्बन्धमा तीनै दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । संसद्ले नियमावलीको मस्यौदा बनाउन एक महिनाको समय दिएर समिति गठन गरेको सात महिना पुग्न लागेको छ ।


  •  
  •  
  •