एमालेको विवाद टुङग्याउन ३ सदस्यीय कार्यदल

201
  •  
  •  
  •  

काठमाडौँ, २३ चैत(ओएनएस) : नेकपा एमालेले केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयनको विवाद टुङ्गो लगाउन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको एमाले सचिवालय बैठकले पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदल गठन गरेको हो । कार्यदललाई गृहकार्य गरी प्रस्ताव ल्याउने जिम्मेवारी दिइएको छ । गुरुङ सङ्गठन र विष्ट मोर्चा सङ्गठन विभागको प्रमुख रहेका छन् ।

कार्यदलले स्थायी कमिटीको बैठकमा विभागमा मनोनयनबारे मापदण्ड बनाई प्रस्ताव प्रस्तुत गर्नेछ । कार्यदलले सम्बन्धित विभागका प्रमुख र उपप्रमुखको सिफारिस, वरिष्ठता र सम्बन्धित पक्षसँगको छलफलबाट विवादको किनारा लगाउनेछ ।

स्थायी कमिटीको बैठकपछि आजै पार्टीको पोलिटब्युरोको बैठक बस्नेछ । यही चैत २७–३० मा काठमाडौँमा हुने केन्द्रीय कमिटीको बैठकको कार्यसूची पनि आजको बैठकले तय गर्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको समीक्षा, सरकारको प्रभावकारिता, संविधानको कार्यान्वयन, पार्टीका विभाग र अञ्चल कमिटीमा सदस्य मनोनयन लगायत विषयमा छलफल हुने बुझिएको छ ।


  •  
  •  
  •