रंगेली झडप : मृत्यु हुनेको संख्या तीन पुग्यो

177
  •  
  •  
  •  

विराटनगर, ७ माघ(ओएनएस) : मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी मोरङको पुरानो सदरमुकाम रंगेलीमा झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ३ पुगेको छ । एमाले निकट युवा संघले आयोजना गरेको सभा विथोल्न गएका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीको गोली लागि रंगेली-४ की ५८ वर्षीय द्रौपतीदेवी चौधरी, डायनियाँ-९ का शिवु माझी र बरडंगा-२ का महादेव ऋषिदेवको मृत्यु भएको हो ।

झडपमा प्रहरीसहित दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएपछि रंगेलीको स्थिती तनावग्रस्त छ ।

स्थिति नियन्त्रणबाहिर गएपछि प्रशासनले रंगेली क्षेत्र वरपर कर्फ्यु आदेश जारी गरेको छ । मोरङ जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय रंगेलीदेखि ५ सय मिटर पूर्व तथा पश्चिममा गोविन्दपुरको बक्राह खोलासम्म, मालपोत कार्यालयभन्दा ५ सय मिटर उत्तर र दक्षिणमा रंगेली-उर्लाबारी हुलाकी राजमार्गको ५ सय मिटर दक्षिणसम्म कर्फ्यु आदेश जारी गरेको हो ।


  •  
  •  
  •