काठमाडौं, ५ पुस (ओएनएस) : तीन दलको बैठक जारी रहदा एमाओवादी बाहिरिएपछि बैठक निस्कर्षबिहिन भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बिहान बसेको बैठकको बीचमै एमाओवादी नेताहरु उठेर हिडेपछि बैठक उपलब्धिबिहिन भएको हो ।
बैठकपछि काँग्रेस उपसभापती रामचन्द्र पौडेलले एमाओवादीले आफ्ना कुरा नराखी बाहिरिएको जानकारी दिए । उनले संविधान निर्माणको बिषयमा देखा परेका विवादित बिषयमा काँग्रेस एमालेले अब अन्य दलहरुसँग छलफल गर्ने बताए ।
बैठकबाट बाहिरिएपछि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले काँग्रेस र एमालले सहमतिमा जाने संकेत नदेखाएकोले बाहिरिएको बताए । उनले दुबै पार्टिले सहमति गर्न भन्दा पनि प्रक्रियामा जान जोड दिएकाले बैठकमा बस्नुको औचित्य नभएको बताए । बैठकबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराई पनि बाहिरिएका छन् । एमओवादी बाहिरिएपनि काँग्रेस एमालेबीच भने छलफल भैरहेको छ ।
दलहरुबीच लामो समयदेखि रोकिएको संवाद शनिबारदेखि फेरि सुरु भएपछि संविधानका विवाददित विषयमा सहमति हुने विश्वास गरिएको थियो । कांग्रेस र एमालेले सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्न संविधानसभाको कार्य अघि बढाउने निचोड लिएकालेका थिए । उनीहरुले संविधानसभाको कार्यतालिकाअनुसार प्रक्रियाबाट संविधान जारी गर्न सकिने बताइरहेका बेला एमओवादी भने सहमतिबाटै संविधान जारी गर्ने पक्षमा छ ।
संविधान जारी गर्ने समय एक महिनामात्रै बाँकी रहेकाले दुई दलले सहमतिको प्रयास पनि जारी राख्दै संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया अघि बढाउने नीति बनाएका छन्। बहुमतमा रहेका सत्तारुढले प्रक्रियाबाट संविधान जारी गर्ने कुरा गरेपनि अल्पमतमा रहेका एमाओवादी सहितका विपक्षी भने सहमतिको रटानमा छन् ।
प्रमुख दलहरुबीच राज्य पुनसंर्रचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे विवाद छ । सबैभन्दा बढी विवाद भएको संघीयताको सीमांकनका बिषयमा छ ।