काठमाडौं १४ साउन (ओएनएस) :
भारतसँग विद्युत व्यापार सम्झौता गर्नुअघि त्यसको अध्ययन गर्न बनेको कार्यदलले आजबाट अध्यन सुरु गर्ने भएको छ । मुख्य तीन दलको मंगलबार साँझको बैठकले तीन सदस्यीय समिति बनाएका थियो । समितिले आजदेखि विद्युत व्यापार सम्झौताको अध्यनगर्ने छ भने त्यससँग जोडिएका सरोकारवालासँग छलफल गर्नेछ । कार्यदलले आज उर्जामन्त्रालयका अधिकारीसँग छलफल गर्नेछ । उर्जामन्त्रालयका अधिकारी, विद्युत विज्ञ लगायतकासँग छलफल गरेपछि प्रतिवेदन तयार गर्ने र त्यस आधारमा निणर्य गर्ने सदस्य एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए । कार्यदललमा एमाले उपाध्यक्ष भीम रावल, कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौंला र एकीकृत माओवादीका नारायणकाजी श्रेष्ठ सदस्य छन् ।
विद्युत ब्यापार सम्झौता गर्नुपर्नेमा सबै दल सकारात्मक रहेकाले विवादरहित सम्झौता गर्नेगरि कार्यदलले गृहकार्य गर्ने रावलले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणकै बेला सम्झौता गर्ने गरि अध्ययन गरिनेछ । कार्यदलले बिहान १० बजेपछि छलफल गर्ने तयारी गरेको छ । समय भने यकिन भइसकेको छैन । कार्यदलले छलफल गरेको आधारमा साँझ फेरि तीनदलको बैठक बस्ने तयारी छ।