सकसमा ठूला दलका मधेसी नेता

137
  •  
  •  
  •  

काठमाडौं ५ मंसिर ।
मधेसमा आन्दोलन भएको ठ्याक्कै सय दिन भयो । मानव साङ्लो वा विभिन्न जातीय संगठनका नाममा भएका प्रदर्शनमा प्रमुख ३ दल कांग्रेस, एमाले र एमाओवादी समर्थकका साथै कार्यकर्ताले पनि सहभागिता जनाए । ठूला दलका विभिन्न भ्रातृ तथा पेसागत पदाधिकारीले पनि आन्दोलनमा कुनै न कुनै रूपमा उपस्थिति जनाए ।

कार्यकर्ताको सहभागितामा आँखा चिम्लिँदै आएका जिल्लास्तरका नेतालाई भने लम्बिँदो आन्दोलन र त्यसमा भइरहेको जनसहभागिताले दबाब थेग्न समस्या परिरहेको छ । दसैं, तिहार र छठ सकिएसँगै मधेसमा फेरि आन्दोलनले गति लिन थाल्दा जिल्लास्तरका नेताहरू असहज महसुस गरिरहेका छन् । कार्यकर्ताको सहभागिता भए पनि उनीहरू समर्थन वा विपक्षमा निस्किएका छैनन् । तीन महिनायता आफूहरूको राजनीति निष्त्र य जस्तो भएको एमालेका एक जिल्लास्तरीय मधेसी नेताले सुनाए । कांग्रेसका एक सक्रिय जिल्ला नेता भन्छन्, ‘हामी मधेसमा कति समस्या झेलेर बसेका छौं भन्ने केन्द्रका नेताले बुझदैनन् ।’

मधेस आन्दोलन र त्यसको मागबारे केन्द्रीय नेताहरूलाई कुरा गर्दा र बुझाउन खोज्दा उनीहरूले शंकाको नजरले हेर्न थालेको उनको गुनासो छ । ‘केही नेता मात्र उदार छाती बनाएर हाम्रो कुरा सुन्छन्,’ काठमाडौंमा धेरै नेतालाई भेटेका उनले भने । मधेस आन्दोलनको सम्बोधनमा भइरहेको ढिलाइले सिंगो मुलुकलाई समस्या परेको भन्दै सर्लाही कांग्रेसका सभापति लक्ष्मण रायले आफूहरू मधेसकै बासिन्दा र सक्रिय राजनीतिक कार्यकर्ता भएकाले समस्या महसुस हुनु स्वाभाविक भएको बताए । कांग्रेसले समस्या समाधानका लागि गरेको संविधान संशोधनको पहललाई सार्थकता दिन ढिलाइ भइरहेकामा उनले चिन्ता व्यक्त गरे । ‘अब धेरै भइसक्यो, ढिला नगरौं, मधेसलाई बेलैमा सम्बोधन गर्नुपर्छ,’ उनले भने ।

एक साताअघि मात्र सर्लाही क्षेत्र नम्बर ४ का कांग्रेस अध्यक्ष दिनेश मिश्रका भाइलाई कांग्रेस भएकै कारण कुटपिट भयो । यस्ता घटनाले जिल्लाका मधेसी नेताहरू असुरक्षित महसुस गर्न थालेका छन् । बजारमा निस्किँदा मोर्चाका कार्यकर्ताबाट मात्र होइन, आम व्यक्तिबाट ओइरिने अनेकथरी प्रश्नबाट घेरिने गरेका छन् उनीहरू ।

एमाले नेता माधवकुमार नेपाल गत आइतबार छठको शुभकामना कार्यक्रमका लागि सर्लाहीको हरिपुर आउने कार्यक्रम तय भएको थियो । उनी आउँदा मुठभेड हुने सम्भावना देख्दादेख्दै पार्टीका मधेसी नेताले पार्टीभित्र स्थिति अवगत गराउन सकेनन् । कारण थियो, कार्यक्रम नगर्न सुझाव दिँदा नेताले शंकाको नजरले हेर्छन् कि भन्ने डर । मधेसी मोर्चाले सक्रिय विरोध गर्ने जनाएपछि नेपालको कार्यक्रम स्थगित हँंुदा पार्टीभित्रका मधेसी नेताहरूले पनि राहत अनुभव गरेको ती नेताले सुनाए । मधेसका पक्षमा बोल्दा पार्टीले शंकाको घेरामा राख्ने सम्भावनाले उनीहरूलाई कठिनाइ छ ।

‘पार्टीमा कटिबद्ध छु भनेर प्रमाणित गर्नै समस्या पर्न थालेको छ,’ एक जिल्ला नेताले भने ।
आन्दोलनमा नगई पार्टीमा बस्ने ती नेता आफू एक्लो र असुरक्षित महसुस गर्छन् । आन्दोलन बढ्न थालेपछि कांग्रेस जिल्ला सभापति राय अधिकांश समय काठमाडौं बसे । कांग्रेसका केही नेता त मधेस आन्दोलनको समर्थनमा झन्डा लिएरै जुलुसमा निस्के । जिल्ला समितिका र महासमिति सदस्य पनि आन्दोलनको समर्थनमा जुलुसमा सहभागी भएका थिए । एमाले र एमाओवादीका जिल्ला नेता पनि समस्या झेल्दै छन् ।
सर्लाहीकै क्षेत्र नम्बर ४ मा मधेसी मोर्चाका नेता राजेन्द्र महतो र महेन्द्र राय यादवविरुद्ध सभासद उठेर पराजित एमालेका पूर्वजिल्ला उपाध्यक्ष राजनारायण साह पनि मलंगवामा संकट बेहोर्दै छन् । उनी मोर्चाले अघि सारेका मागबारे तीन ठूला दल र सरकारले स्पष्ट पार्न ढिलाई गर्न नहुने बताउँछन् । ‘दैनिक गाली सुनेर मधेसमा बस्नै कठिन भइसक्यो,’ उनले भने, ‘आन्दोलन टुंग्याउनेतर्फ सबै दल अग्रसर हुनुपर्छ । लामो आन्दोलनले कुनै पनि पार्टी र देशलाई फाइदा पुग्दैन । जनताको पीडालाई छिटो सम्बोधन गर्नुपर्छ ।’
संविधान बनाउने मुख्य तीन दलका जिल्ला नेतालाई मधेसी आन्दोलनकारीले मधेस विरोधीका रूपमा चित्रित गर्ने गरेका छन् । यस्तामा यी दलका कार्यकर्तालाई आन्दोलननिरपेक्ष रहन कठिन हुँदै गएको छ । मधेसी नेता/कार्यकर्ता अहिलेसम्म पार्टीमा अडिग रहनुलाई ठूलो साहस मान्नुपर्ने एमालेका एक नेता बताउँछन् । उनले भने, ‘पार्टीले सुरक्षा दिन सक्ने अवस्था छैन । यस्तो बेला कार्यकर्ताको कुरा नेतृत्वले सुनिदिनु पर्छ । यथार्थ कुराभन्दा शंका गर्ने परिपाटी त्याग्नुपर्छ ।’

संविधानमा मतदान गरेको भन्दै मलंगवामा एमालेकी सभासद कमलादेवी महतोको घरमा आगजनी भयो । त्यही दिन साहको घरमा पनि आगजनी गर्न एक समूह पुगेको थियो । एमाओवादी जिल्ला अध्यक्ष कमल बुढाथोकीले मधेसी नेता/कार्यकर्ता संकटको अवस्थामा रहेको बताए । ‘मधेस आन्दोलनका कारण मधेसी नेता/कार्यकर्ता केही असहज अवस्थामा छन्,’ उनले भने, ‘त्यसलाई निराकरण गर्नुपर्छ । अन्य पार्टीका नेता/कार्यकर्तालाई मधेसमा कठिनाइ सिर्जना गर्ने काम भएको छ ।’

मधेस आन्दोलन चर्किएपछि विभिन्न पार्टीमा रहेका मधेसी मूलका सभासदहरू दसैं, तिहार र छठ मान्न पनि जिल्ला आउन सकेका छैनन् । एमालेकी सभासद रञ्जना सरकार र कांग्रेस सभासद रामचन्द्र चौधरी तिहारका बेला हरिपुर आएको सूचना पाएका मोर्चा कार्यकर्ता उनको घर घेराउ गर्न पुगे । संविधानमा हस्ताक्षर गरेका सभासदहरूलाई जिल्ला प्रवेशमा रोक लगाइएको मोर्चामा आबद्ध संघीय समाजवादी फोरमका सर्लाही जिल्ला अध्यक्ष अशोक यादव बताउँछन् । ‘म त अहिलेसम्म ६/७ पटक मरिसकें हुँला,’ वीरगन्जमा एमालेका एक जिल्लास्तरीय नेताले हस्यौली गर्दै पीडा सुनाए, ‘मोर्चाका साथीहरूले शवयात्रा निकालिसकेका छन् ।’ संविधान निर्माणमा सहभागी कांग्रेस, एमाओवादीलगायत दल मात्र नभई सत्ता साझेदार फोरम लोकतान्त्रिकका जिल्ला नेताहरू अप्ठ्यारोमा देखिन्छन् ।

कान्तिपुरबाट


  •  
  •  
  •