रानी भन्सारबाट २७ इन्धनका ट्यांकर भित्रिए

265
  •  
  •  
  •  

विराटनगर, १८ असोज(ओएनएस) : भारतले गरेको अघोषित नाकाबन्दीका कारण ठप्प भएको तेल आयात सोमबारदेखी केही खुकुलो भएको छ । विराटनगर रानी भन्सारबाट पेट्रोलिय पदार्थ बोकेका सवारी साधनहरू बिहानैदेखी प्रवेश गर्न थालेका छन् ।

सिमापारी जोगवनी नाकामा रोकिराखेका २७ वटा पेट्रोलियम पदार्थका ट्यांकर विराटनगर रानी भन्सारमा प्रवेश गरेका छन् । जसमध्ये २ वटा ग्यास बुलेट, १४ वटा पेट्रोल र ११ वटा डिजेलका ट्यांकर नेपाल भित्रिएको रानी भन्सारका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।

सोमबार दिउँसो एक बजेसम्म जम्मा ६४ वटा मालवहाक गाडीहरू भित्रिएको बस्नेतले जानकारी दिए । उनले भने, ‘एक बजे सम्म ६४ वटा गाडी आइसकेका छन् । अहिले आउने क्रम रोकिएको छ । आउँछन् होला ।’

धेरै लामो लाइन भएकाले पेट्रोलियम पदार्थ बाहेकका अन्य गाडीहरू नै धेरै भित्रिरहेका छन् । अहिलेसम्म ३७ वटा वटा कच्चा पदार्थ बोकेका गाडी नेपाल भित्रीसकेको बताइएको छ ।

गएराति प्रहरीले बल प्रयोग गरी भन्सारको दुई नम्बर घाटमा बसेका मोर्चाका कार्यकर्तालाई हटाएपछि विराटनगर भन्सार सोमबार सामान्य छ । भन्सारमा बसेकाहरुलाई प्रहरीले आइतबार राती १२ बजे बल प्रयोग गरी हटाएको थियो ।

यता आन्दोलनरत संयुक्त मधेसी मोर्चाले भने प्रहरीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षप गरेको आरोप लगाएको छ ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संयुक्त मधेसी मोर्चाले प्रहरीले बल प्रयोग गरेको गुनासो गरेको छ । आफूसँग भएका सामाग्रीहरू प्रहरीले खोसेर लगेको संघीय समाजवादी फोरम अध्यक्ष राजकुमार यादवले जानकारी दिए ।

उनले आइतबार राती मोर्चाका नेतालाई अमानवीय ढंगले पक्राउ गरेको आरोप लगाएका छन् । प्रहरीले आन्दोलनकारीलाई हटाउने क्रममा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य भुराज राई र रामविलास यादवलाई पक्राउ गरी सोमबार छाडेको छ ।


  •  
  •  
  •