सावधान ! पाकिस्तानी नम्बरबाट तपाईलाई पर्ला २५ लाखको चिठ्ठा

266
  •  
  •  
  •  

pradip kamatविराटनगर, ५ चैत(ओएनएस) : सम्पति देख्ने बित्तिकै महादेवको त्रिनेत्र खुल्छ भन्ने उखान छ । त्यस्तै उखान चरिथार्थ भएको छ, विराटनगरमा ।

दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विराटनगर–१ का प्रदिप कामतलाई शनिबार अचानक ९२३०१५९००६०७ नम्बरबाट फोन आयो । विदेशी नम्बरबाट आएको फोन उठाउन डराए उनी । पुनः फोन आएपछि उनले ‘कल रिसिभ’ गरे ।

फोन उठाउँदा उनी छागाँबाट खसे जस्तै भए । दायाँबायाँ केही नदेखे जस्तै भयो । मिस्त्री काम गरेर परिवार पाल्दै आएका उनलाई २५ लाख रूपैँया चिठ्ठा पर्यो भन्ने सुन्दा खुसीको सिमा रहेन ।

आफ्ना दुःख सबै बिर्षिए उनले । एकैसाथ २५ लाखको मालिक भएको कल्पनामा हराउन थाले । पाकिस्तानी नम्बरबाट फोन आयो उनले उठाए । उताबाट आइतबार बिहान पाँच सयको रिर्चाज गरेर फोन गर्न भनियो । उनले माने, शनिबार रातभरी निन्द्रा लागेन, उनलाई । आइतबार रिर्चाज गरेर फोन गरे ।

फोनमा भनियो । तपाईले २५ लाख जित्नु भएको जसकालागि कर वापत एकलाख ५० हजार जम्मा गरिनु पर्छ भन्यो । तत्कालै उनले डेढलाख तिर्न नसक्ने प्रतिक्रिया दिए । ७० हजार रुपैया तिरे बाँकी रकम चिठ्ठाबाट नै कटौती गर्ने सहमति भयो ।

आइतबार उनले एभरेष्ट बैंकमा ५० हजार र २० हजार गरेर रकम बुझाए । आफूसँग पैसा थिएन मंगलवार जिल्ला प्रहरी कार्यालय मोरङमा भेटिएका उनले भने, ‘ससुराबाट ३० हजार, सालाको श्रीमतीबाट २० हजार र बाँकी साथीभाई सँग उठाएर बैंकमा हाल्दिए ।’

पैसा हालेपछि फोन नै नउठाएको उनले गुनासो गरे । उनले थपे, ‘एनसेलमा लट्ट्री परेको छ भन्दै मलाई ढाँटेर पैसा लगे ।’

२५ लाख पाउने आसमा फोनको पछि लाग्दा ऋणको बोज बोक्न बाध्य भएका छन् उनी । उनी भन्छन्, ‘ऋण काटेको पैसा तिर्न एक बर्ष भन्दा बढी लाग्छ ।’

यस्तै कथा सिराहा सरोज सिंहको पनि छ । सिराहा घर भएका सरोज सिंह विराटनगरस्थित लर्डबुद्ध कलेजमा प्लस टुमा अध्ययन गर्दैछन् । फागुन २६ गते कोठामा सुतिरहेको बेला पाकिस्तानकै नम्बरबाट म्यासेज आयो ‘ बधाई छ तपाईँलाई एनसेलमा २५ लाख चिठ्ठा परेको छ ।’

म्यासेज आएको केही समयपछि फोन आयो ।  उनलाई पनि २५ लाख रूपैया पुरस्कार परेको छ । करबापत एकलाख ६० हजार कर तिर्नु पर्छ भनियो ।

फोनमा भनिएको कुराले उनी विश्वस्त भए । तत्कालै घरमा फोन गरेर बुबा आमालाई विश्वस्त बनाए । अनि एकलाख ६० हजार रूपैँया झिके । उनले एभरेष्ट बैककै खातामा एकलाख ६० हजार दुईसय रूपैया बुझाए । पैसा बुझाएपछि मात्र उनले थाहा पाए आफू ठगिएको ।

मंगलवार प्रहरी कार्यालयमा उजुरी हाल्न आएका उनले भने, ‘सुरुमा केही सोच्नै सकिन अहिले महसुस गर्दै छु ।’

चिठ्ठा पर्यो भन्दै यसअघिपनि प्रहरीमा पटक-पटक उजुरी पर्ने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकाल बताउँछन् । उनी भन्छन्, ‘यसअघिपनि विदेशी नम्बरबाट फोन गरेर चिठ्ठा पर्यो भन्दै ठग्ने गरेको गुनासाहरू आएका छन् । केहीलाई हामीले पक्राउ पनि गरेका छौ ।’

मंगलबार परेको उजुरीको बिषयमा पनि छानविन भैरहेको ढकालले जानकारी दिए । उनले भने, ‘केही समय यता चिठ्ठा पर्यो भन्दै ठग्ने क्रम बढेको छ । कसैले ढाँट्न खोज्दैछ भने प्रहरीलाई तत्काल जानकारी गराउनुहोस् ।’


  •  
  •  
  •