जाजरकोटमा मृत्यु हुने २५ पुगे, संक्रमण दर्जनभन्दा बढि गाविसमा

130
  •  
  •  
  •  

काठमाडौ, ६ बैशाख : जाजरकोटमा तीन साताअघि देखिएको संक्रमणप्रति ‘राज्य गम्भिर नहुँदा’ यसले महामारीकै रूप लिइसकेको छ । जाजरकोटका केही गाविसमा मात्रदेखा परेको संक्रमण अहिले दर्जनभन्दा बढी गाविसमा फैलिसकेको छ ।

राज्यले सामान्य संक्रमण भएको र नियन्त्रणमा आउन लागेको बताए पनि महामारीकै कारण शनिबार साँझसम्म जाजरकोटमा २५ जनाले ज्यान गुमाइसकेका छन् ।
जाजरकोटमा संक्रमण नियन्त्रणका लागि परिचालन गरिएको संयन्त्रको लापरबाही र सरकारसमेत ग भीर नहुँदा महामारी मध्यपश्चिमका अन्य जिल्लामा झाँगिन थालेको छ । जाजरकोटमा शनिबार थप तीनजनाको ज्यान गएको छ ।

संक्रमणका कारण थला परेका नायकबाडाका ६१ वर्षीय वीरबहादुर कामी, गर्खाकोटका ६० वर्षीय धने दमाईं र दसेराका २८ वर्षीय शेरबहादुर रावतको ज्यान गएपछि जिल्लामा महामारीका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

जाजरकोटको महामारी नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचाल्दा छिमेकी जिल्ला रुकुम र जुम्लामा समेत संक्रमण फैलिएको छ। अन्य जिल्ला पनि संक्रमणको उच्च जोखिममा छन् । रुकुममा संक्रमणका कारण चौखावाङमा ५० जनाभन्दा बढी बिरामी परेका छन्। जुम्लामा समेत संक्रमण देखा परेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ ।

सरकारी अधिकारीहरूले जिल्लाको अवस्था नियन्त्रणमा आउन लागेको भन्दै सदरमुकाम खलंगामै बसेर केन्द्रमा रिपोर्टिङ गरिरहेकाले पनि महामारी नियन्त्रणमा कठिनाइ भइरहेको छ । अहिले जिल्लामा कति बिरामी छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन ।

सदरमुकाममा रहेका स्वास्थ्यका कर्मचारीहरूले संक्रमण नियन्त्रणमा आउन लागेको बताए पनि महामारी नयाँ स्थानमा देखापर्न थालेको छ । जिल्लाका दसेरा, गर्खाकोट, नायकबाडा र टालेगाउँलगायत स्थानमा महामारी फैलिएको छ । ती गाविसमा अहिले सयौं बिरामी रहेको स्थानीयले बताएका छन्। प्रभावित क्षेत्रमा पर्याप्त औषधि पुग्न सकेको छैन ।
– अन्नपू्र्ण पोष्टबाट


  •  
  •  
  •