२३ आरक्षण केन्द्रीय सदस्यमा को-कुन प्यानलका ?

271
  •  
  •  
  •  

काठमाडौँ, ३० फागुन(ओएनएस) : नेपाली कांग्रेसको केन्द्रीय सदस्यको आरक्षण कोटातर्फको मतपरिणाम शनिबार साँझ नै आएको छ । शनिबार रातीसम्म आरक्षणतर्फका सबै परिणाम आएको छ ।

२३ आरक्षण केन्द्रीय सदस्यको सबै परिणाम आएको हो, जसमा सभापति शेरबहादुर देउवा प्यानलका १५ र रामचन्द्र पौडेल प्यानलका ८ जना विजयी भएका छन् । अब खुलातर्फको २५ र प्रदेशतर्फको १४ केन्द्रीय सदस्यको मत परिणाम आउन बाँकी छ । यी सबैको मतपरिणाम सोमबार बिहानसम्म आउने निर्वाचन समितिले बताएको छ ।

महिला आरक्षणमा को-को ?
महिलाको ६ जनाको पदमा देउवा प्यानलबाट ४ र पौडेल प्यानलबाट २ उम्मेदवार विजयी भएका छन् । देउवा समूहका डिला संग्रौला, पुष्पा भुषाल, ईश्वरी न्यौपाने र अम्बिका बस्नेत रहेका छन् भने पौडेल समूहका कमला पन्त र परिता प्रसाईँ रहेका छन् ।
महिलातर्फ ३८ उम्मेदवार रहेका थिए ।

मधेसी आरक्षणमा को-को ?
मधेसी आरक्षणतर्फ ५ जनाको पदमा देउवा प्यानलबाट ३ र पौडेलबाट २ जना निर्वाचित भएका छन् । देउवा समूहबाट पुरूषतर्फ अजय चौरसिया, महेन्द्र यादव तथा महिलातर्फ पार्वती डिसी चौधरी निर्वाचित भएका छन् भने पौडेल समूहबाट पुरूषतर्फ रामकृष्ण यादव र महिलातर्फ किरण यादव निर्वाचित भएका छन् ।

जनजातीमा को-को ?
जनजाती आरक्षणतर्फ ५ जनाको पदमा देउवा प्यानलबाट २ र पौडेल प्यानलबाट ३ जना विजयी भएका छन् । जनजाति पुरूषतर्फ पौडेल समूहका चीनकाजी श्रेष्ठ र कल्याण गुरूङ तथा महिलातर्फ रत्ना शेरचन निर्वाचित भएका छन् भने देउवा प्यानलबाट पुरूषतर्फ बहादुर सिंह तामाङ तथा महिलातर्फबाट सीता गुरूङ निर्वाचित भएका छन् ।

दलित आरक्षणमा को-को ?
दलितको आरक्षणतर्फ ५ जनाको पदमा देउवा प्यानलबाट ४ र पौडेल प्यानलबाट १ जना निर्वाचित भएका छन् । दलित पुरुषतर्फ देउवा समूहका मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा विजयी भएका छन् भने महिलातर्फ लक्ष्मी परियार र सुजाता परियार निर्वाचित भएका छन् भने पौडेल समूहबाट जीवन परियार निर्वाचित भएका छन् ।

मुस्लिम आरक्षणमा को ?
मुस्लिम आरक्षणतर्फ १ जनाको पदमा देउवा प्यानलबाट फर्मुल्लाह मन्सुर २ दिनअघि नै निर्वाचित भएका छन् ।


  •  
  •  
  •