काठमाडौं, ६ मंसिर (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर र लुम्बिनी भ्रमणको तयारीमा रहेकै बेला भारतको उत्तराखण्ड राज्यको देहरादुनमा रहेका भारतीय नेपालीहरू भने नेपाली वीरताको इतिहास र मौलिक संस्कृति झल्काउने विशेष कार्यक्रमको तयारीमा छन् ।
अहिले यो क्षेत्र ध्वजापताकाले रंगिएको छ । घर छाडेर परदेश गएकाहरू धमाधम फर्किँदै छन् । देशविदेशमा रहेका आफन्तहरुलाई बोलाउँदै छन् । कारण, नालापानी युद्धमा नेपालीले वीरतापूर्वक लडेको सम्झनामा यस वर्ष द्धिशतवार्षिकी मनाइने भएको छ ।
भारतको उत्तराखण्ड राज्य, देहरादुनमा रहेका भारतीय नेपालीहरूको आयोजनामा हुने द्धिशतवार्षिकी कार्यक्रम तीन दिनसम्म चल्नेछ । बलभद्रकै समयदेखि विभिन्न कालखण्डमा पुगेका लाखौँ नेपालीहरू अहिले पनि नालापानीको आसपासमा बस्छन् । बलभद्र खलंगा विकास समिति प्रमुख आयोजक रहेको कार्यक्रममा गोरखा सुधार सभा र गुराँस सांस्कृतिक कला केन्द्र लगायत नेपालीहरूका संस्थाहरूले पनि साथ दिएका छन् ।
बलभद्र खलंगा विकास समितिका संरक्षक एवम् भारतीय सेनाका अवकाशप्राप्त ब्रिगेडियर पीएस गुरूङका अनुसार, यही नोभेम्बर २९ तारिखका दिन कार्यक्रम सुरू हुनेछ । हरेक वर्ष नोभेम्बरको अन्तिम आइतबार वा बिदाको दिन पारेर मनाइने महोत्सव यसपाली द्धिशतवार्षिकी भएकाले विशेष रुपमा मनाउन लागिएको गुरुङले जानकारी दिए । उनका अनुसार, सुरूको दिन सधैँजसो पूजापाठ हुनेछ, किल्लानजिकैको मन्दिरमा । त्यहीँ भोजभेतरको समेत आयोजना गरिएको छ ।
नोभेम्बर ३० का दिन बलभद्रले आफ्ना बाँकी सेना लिएर कुशलतापूर्वक किल्ला त्यागेको दिन पारेर सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । बलभद्र लगायत नेपाली वीर योद्धाहरूको साहस र नेपाली मौलिक संस्कृति झल्किने प्रस्तुतीहरू प्रदर्शन गरिनेछन् । त्यस दिनको कार्यक्रमको प्रमुख आतिथ्यता उत्तराखण्ड राज्यका मुख्यमन्त्री हरिश रावतले गर्नेछन् । खानाका स्टल, भाग्य चिठ्ठा, खेलकुद जस्ता कार्यक्रमहरू पनि राखिएका छन् । नालापानी क्षेत्र अहिलेदेखि नै ध्वजापताकाले रंगिएको छ ।
३१ तारिखको दिन अन्तरक्रिया, अतिथि र कार्यकारिणीबीच छलफल र सांस्कृतिक कार्यक्रम राखिएको छ । त्यसमा नेपालबाट गएका अतिथिहरू, भारतीय उच्च पदस्थ व्यक्तिहरू र गोर्खाली समुदायका अगुवाहरूको विशेष जमघट हुनेछ ।
बलभद्र नालापानी युद्धबाट फर्केर आएपछि पहिलोपल्ट उनका वंशजहरू यसपाली नालापानी टेक्दै छन् । नेपालबाट उक्त कार्यक्रममा भाग लिन पहिलोपटक बलभद्र कुँबर प्रतिष्ठान र कुँबर समाज मिलेर नालापानी जाने तयारीमा छन् । यसको नेतृत्व भने बलभद्र कुँबरका पाँचौ पुस्ताका राजकुमार कुँबरले गर्नेछन् ।
देहरादुनको सहस्रधारा रोडमा अहिले पनि गोर्खाली फौजले वीरतापूर्वक लडेको स्थानमा बेलायतीहरूले राखेको शिलास्तम्भ देख्न पाइन्छ । त्यसमा बेलायतीहरूले आफ्ना कमाण्डरको सहादत र ती कमाण्डरलाई मार्न सक्ने वीर शत्रु भन्दै गोर्खालीको समेत तारिफ गरेका छन् । ‘यसले देहरादूनका मात्र होइन, सिंगो भारतमा रहेका गोर्खालीको मनोबल उठाएको छ,’ ब्रिगेडियर गुरूङले भने । नालापानी किल्ला रहेको ठाउँमा देहरादुनका नेपालीहरूले नै भव्य स्मारक बनाएका छन् ।