काठमाडौ, १७ भदौ : निरन्तरको बन्द छल्दै कैलालीका मणिक भट्ट छोराको शैक्षिक प्रमाणपत्र सच्याउन तीन दिन लगाएर मुस्किलले काठमाडौं आइपुगे । प्रवेशिका परीक्षा (एसएलसी)को प्रमाणपत्रमा छोराको नाममा एक अक्षर गल्ती भएपछि सच्याउन भट्टले अहिलेसम्म २० हजार खर्च गरिसकेका छन् ।
एक सातापछि मात्र प्रमाणपत्र आउने भएकाले उनी यतिबेला राजधानीमा छोराको सच्चिएको प्रमाणपत्र कुरेर बसेका उनी भन्छन्, ‘एक त लामो दुरीको बाटो, त्यसमा पनि अहिले बन्दको समय छ । होटलमा बसेर एक साता कुरेरै भए पनि लिएर नै जाने सोचाइमा छु ।’
संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा रहेका बेला सीमांकनसहितको संघीयतालाई लिएर ठाउँठाउँमा तनाव भइरहँदा नागरिकले भने केन्द्रीकृत व्यवस्थाका कारण यस्तो हैरानी बेहोर्नुपरेको छ । आफूले सही नाम लेख्दा पनि कर्मचारीले टाइपमा गरेको गल्तीका कारण उनले नचाहेर पनि काठमाडौं धाउनुपरेको हो ।
एक मात्र अक्षर फरक पर्दा भट्टले झन्डै २० हजार रुपैयाँ र १२/१३ दिन समय खर्चिनुपरेको हेा । जिल्लामा नभए पनि निजकका जिल्लामा सेवा पाउने भए काठमाडौंसम्म धाउनु नपर्ने उनले बताए ।
– राजधानी दैनिकबाट