रूपन्देही, १० माघ(ओएनएस) : सन् १९९४ मा २० हजार ९ सय ७२ जना विदेशी पर्यटकले लुम्बिनी अवलोकन गरेका थिए । त्यसको ४ वर्षपछि सन् १९९८ लाई पहिलो पटक नेपाल भ्रमण वर्ष घोषणा गरिएको थियो ।
भ्रमण वर्षको १२ महिनाको अवधिमा पर्यटक संख्यामा सामान्य सुधार आयो । त्यो वर्ष २२ हजार १ सय ९९ जना विदेशी पर्यटक लुम्बिनी आए । सन् १९९० को दशकमा लुम्बिनी घुम्न आउने पर्यटकको संख्या वार्षिक २५ हजार भन्दा उकालो लाग्न सकेन ।
सन १९९९ देखि २००२ सम्म पर्यटक संख्या निरन्तर ओरालो लाग्यो । लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईको अनुभवमा हाम्रो देशको आन्तरिक राजनीतिक कारण र बढि पर्यटक आउने मुलुकमा देखा परेको अस्थिरताले यहाँ असर गर्यो । उनी भन्छन्, ‘गन्तव्य चिनाउन पनि हामीले धेरै समय खर्चिनु पर्यो ।’
गन्तव्य जति राम्रो भएपनि प्रचारप्रसार नहुँदा केही वर्ष लुम्बिनी ओझेलमा पर्यो । प्रचार-प्रसार व्यापक बन्दै जादा सकारात्मक संकेत देखा परे । उनका अनुसार लुम्बिनीमा विकास गतिविधि बढ्दै जाँदा अन्तराष्ट्रिय स्तरमा सकारात्मक सन्देश गयो ।
जापानी प्रोकेन्जो ताङगेले सन् १९७८ मा तयार पारेको लुम्बिनी गुरूयोजना कार्यान्वयनले गति लिएपछि लुम्बिनी हेर्न लायक बन्दै गयो । अनि बिस्तारै पर्यटक आगमनमा सुधार देखियो । सन् २००३ बाट क्रमिकरूपमा सुधारको संकेत देखा पर्यो ।
नेपालमा शान्ति प्रक्रिया आरम्भ हुँदा सन् २००७ मा पर्यटक संख्याले फड्को मार्न सफल भयो । २००७ मा तेश्रो मुलुकका ७१ हजार ५३ जनाले लुम्बिनी भ्रमण गरे । हजारमा गणना हुने पर्यटक संख्या सन् २०१० मा आइपुग्दा लाखमा परिणत हुन पुग्यो । सन २०११ लाई नेपाल भ्रमण वर्ष र २०१२ लाई लुम्बिनी भ्रमण बर्ष मनाइरहँदा पर्यटक आगमन थप उत्साहजनक बन्यो । यसरी दुई दशकको अवधिलाई हेर्ने हो भने संख्यात्मक हिसाबमा पर्यटक बृद्धिदर उत्साहजनक देखिन्छ ।
तथ्याङक अनुसार एक वर्षमा तेश्रो मुलुकबाट लुम्बिनी भित्रिने पर्यटकको संख्या डेढ लाखको नजिक पुगेको छ । सूचना अधिकृत राईका अनुसार सन २०१४ मा अहिलेसम्मकै धेरै १ लाख ३६ हजार ९ सय ९१ जना तेश्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ४० दशमलब ५७ प्रतिशत बढि हो । तीमध्ये सबैभन्दा धेरै श्रीलंकाका ३७ हजार ६ सय जना छन् । सोही वर्ष भारतका १ लाख ५४ हजार २ सय १६ ले लुम्बिनी भ्रमण गरेका छन् ।
आन्तरिक पर्यटकको संख्या ९ लाख २ हजार ६ सय २३ रहेको छ । यहाँ आउने तेश्रो मुलुकका पर्यटकमध्ये धेरै श्रीलंका, जापान, म्यानमार, थाइल्याण्ड, बर्माका रहेका छन् । पर्यटक बढ्नुमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ । पर्यटन व्यवसायी सञ्जय बजमय निजी क्षेत्रकै सकृयताले पर्यटक बढेको बताउँछन् । उनी भन्छन्, ‘विकास कोषले केही गरेको छैन । निजी क्षेत्र पर्यटन प्रवर्द्धनमा लागि परेको छ ।’
साटाका अध्यक्ष समेत रहेका बजमय सन् २०१५ सम्म आन्तरिक र बाह्य पर्यटक संख्या वार्षिक २० लाख पुग्ने विश्वास व्यक्त गर्छन् । भैरहवामा क्षेत्रीय विमानस्थल निर्माण भएपछि लुम्बिनी आउने पर्यटक अझ बढ्ने उनले बताए ।
लुम्बिनी पर्यटन व्यवसायी संघका पूर्व अध्यक्ष हुसेनी लोधले विश्वले चिनेको लुम्बिनीमा आउने पर्यटकलाई सन्तुष्ट बनाउन सके सकारात्मक सन्देश जाने बताउँछन् । उनीहरूलाई सुविधा दिन सके मात्रै बसाइ लम्बाउन सकिने बताउँछन् । लुम्बिनीप्रति स्थानिय बासिन्दाको माया घटेको उनको गुनासो छ । तर, अहिले लुम्बिनी विकास कोषको नीजि सम्पति जस्तै बनाइएको छ । त्यसैले पहिले जस्तो माया अहिले छैन ।
यद्यपी दुइ दशकको यो अवधीमा भौतिक निर्माणमा समेत ठुलो फड्को मारेको छ । गुरूयोजना अनुरूप विकासका काम अघि बढिरहेका छन् । मायादेवी मन्दिर पुननिर्माण भयो । विश्व शान्ति शहर निर्माणका लागी अर्को गुरूयोजना तयार भएको छ । विदेशी चाँसो बढेको छ ।’ भौतिक रूपमा समेत लुम्बिनी सुन्दर बनेको सूचना अधिकृत राईले बताए ।