भूकम्पपीडितले घर बनाउन २० लाखसम्म पाउने

222
  •  
  •  
  •  

काठमाडौँ, १४ फागुन : भूकम्पपीडितले घर बनाउन २० लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले भूकम्पपीडितलाई दुई लाख रुपैयाँ अनुदान, सामूहिक जमानीमा तीन लाख रुपैयाँ दुई प्रतिशत ब्याजदरमा र चाहेमा गाउँका पीडितलाई १५ लाख रुपैयाँसम्म ऋण दिन सकिने बताए ।

उनका अनुसार राष्ट्र बैंकले गाउँमा १५ लाख र सहरमा २५ लाख रुपैयाँ दुई प्रतिशत ब्याजदरमा बैंकमार्फत उपलब्ध गराउने कार्यविधि बनाइसकेको छ । त्यस्तै सामूहिक जमानीमा तीन लाख रुपैयाँ उपलब्ध गराउने नीतिगत निर्णय भएको छ ।

एउटै व्यक्तिले दुई लाख अनुदान, सामूहिक जमानीको तीन लाख सहुलियत ऋण र धितोसहितको १५ लाख रुपैयाँ सहुलियत ऋण लिन पाउने कि नपाउने भन्ने जिज्ञासामा अधिकारीले भने, ‘कसैले अलि ठूलो भूकम्प प्रतिरोधी घर बनाउन चाहने हो भने त्यो पाइन्छ ।’

सरकारले भूकम्प प्रभावित जिल्लाका बासिन्दालाई घर बनाउन दुई लाख रुपैयाँ अनुदान बैंकमार्फत तीन किस्तामा उपलब्ध गराउने तयारी गरेको छ । पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा ८० हजार र तेस्रो किस्तामा ७० हजार रुपैयाँ उपलब्ध गराउन लागिएको हो ।

संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले बिहीबार प्राधिकरणका कार्यकारीअधिकृत सुशील ज्ञवालीलाई बोलाएर छलफल गरेको थियो । समितिको बैठकमा भूकम्पपछिको पहिरोले थातथलो गुमाएर विस्थापित भएका, थातथलो भएका ठाउँमा बस्न लायक जमिन नभएकालाई जिल्ला नै स्थानान्तरण गर्नेबारेमा सांसदहरूले प्रश्न उठाए पनि त्यसबारे प्राधिकरण अन्योलग्रस्त देखिएको समितिका सभापति सुशीलकुमार श्रेष्ठले बताए ।

छलफलपछि समितिले सर्भेदेखि निर्माणसम्मका क्रियाकलापमा सम्बन्धित जिल्लाका सांसद, स्थानीय निकाय तथा स्थानीय स्तरका सर्वदलीय संयन्त्रलाई समेत संलग्न गरी अनुगमन र निरीक्षण प्रभावकारी बनाउन र ऋण तथा अनुदान दिने प्रक्रियालाई सरल, छिटो र छरितो बनाउन प्राधिकरणलाई निर्देशन दिएको छ । ‘प्राधिकरणको हालत शान्ति मन्त्रालयको जस्तो नहोस् भनेर म आफैं कामको अनुगमन गर्दैछु’, सभापति श्रेष्ठले भने ।
– अन्नपूर्ण पोष्ट दैनिकबाट


  •  
  •  
  •