दलदलमा २० घन्टा

473
  •  
  •  
  •  

काठमाडौं ६ असोज ।
म अरू दुई जना साथीसहित रणजोर खोलाको बाटो हुँदै सालुतर्फ जाँदै थिएँ। सुनारपानी-६ को सिम्ले फेदीमा पुग्दा परैबाट कालो थुप्रो जस्तो देखियो।

के होला त्यो भनेर हामीले कुरा गर्‍यौं। केही नजिक पुगेपछि मानिस जस्तो लाग्यो। सुसेली हाल्यौं। मानिस नै रहेछ। हात हल्लायो र बोलाए जस्तो गर्‍यो। हामी त्यतै हान्नियौं। रणजोरले केही दिनअघि थुपारेको पांगोमा उनी

फसेका रहेछन्। सहजै जान सक्ने ठाउँ थ्ािएन। के गर्ने? हामीबीच सल्लाह भयो। शुक्रबार बेलुकाको साढे ५ बजिसकेको थियो। मान्छेलाई त बचाउनुपर्छ भनेर भीरको बाटो झुन्डिँदै, स्याउला फाँड्दै नजिकै पुग्यौं।

हिलो थलथले थियो। मानिस छातीसम्म डुबेको अवस्थामा थियो। केही टाढाबाट एउटा काठ समाउन दियौं। उनले समाए। तर आउन सकेनन्। हाम्रो त्यसभन्दा बढी केही गर्ने ताकत थिएन। मद्दत माग्न स्थानीयवासीलाई टेलिफोनबाट खबर गर्‍यौंं। वरिपरिबाट केही मानिस आए। उनीहरू आउँदासम्म हामीले प्रयास गरिरहेका थियौं। त्यसपछि सालु प्रहरीलाई फोन गरियो। फोन गरेको आधा घन्टामा प्रहरी सहायक निरीक्षकसहित ३ जना आइपुगे। त्यतिबेला लगभग बेलुकाको ७ बजेको थियो। अब अँध्यारो भइसकेको थियो। हामीले स्याउला जम्मा पार्‍यौं र मानिस भासिएको नजिकै पुग्यौं। तर चलाउन चपटाउन सकिएन।

राति आठ बज्यो। सुरक्षाकर्मी र हाम्रो केही सीप चलेन। त्यसपछि जिल्ला सदरमुकाममा खबर भयो। हामीले उद्धार पनि जारी राख्यौं। जिल्लाबाट थप सुरक्षाकर्मी आउनुभन्दा अघि नै कम्मरसम्मको माटो निकाल्यौं। जिल्ला प्रहरी कार्यालयबाट १० जनाको टोली पुग्यो। त्यसको केही क्षणमा सशस्त्र प्रहरीबाट डीएसपी प्रेमप्रकाश सिग्देल आफैं १० जनाको टोली लिएर आइपुगे। जिल्लामा केही पत्रकारहरूलाई पनि मैले फोन गरें। उनीहरूबाट पनि थप बल पठाउनमा ठूलो मद्दत भयो। सबैको मोबाइलमा ब्याट्री सकिए। पानी पर्न थाल्यो। हामी काम गरिरहेका थियौं। कसैले केही खान पाएका थिएनन्। खोलाले बगाउला भनेर केही पर भाग्यौं। बीच खोलाको बगरमा थियौं हामी। बिहान ३ बजे दलदलबाट बच्दै ती व्यक्तिलाई चाउचाउसम्म लगिदियौं। उनी बोल्दैन थिए। आत्तिएका थिए। चाउचाउ खाए। पानी पनि दियौं, खाए। त्यहाँ भएका साधन र जनशक्तिले मात्र निकाल्न सकिँदैन भन्ने निष्कर्षसहित डीएसपी सिग्देल थप बल लिन बिहान ३ बजे आफ्नो टोलीसहित जिल्ला सदरमुकाम फर्के। केही युवा र प्रहरीले बिहान उज्यालो नहुन्जेल खोलामा उद्धारका लागि केही न केही काम जारी राखे। उनी लेदोमा पुरिइरहेकै थिए। त्यत्तिको प्रयास गर्दा छातीसम्म पुरिएकालाई कम्मरसम्म देखिने बनाइएको थियो।

बिहान वरिपरिबाट अरू साथीहरू आए। फेरि जिल्ला सदरमुकाममा फोन गर्ने काम भयो। निमित्त प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेल, नन्दाबक्स गण मन्थलीका मेजर यादव सिलवाल र प्रहरी नायब उपरीक्षक रमेशकुमार बस्नेत मद्दतसहित साढे नौ बजेतिर आइपुगे।

सुन्दा घटना सामान्य लाग्न सक्छ। त्यहीं पुगेका कतिपय मानिस सजिलै निकाल्न सकिएला भन्ने अनुमान लगाउँथे। गाली गर्ने पनि त्यत्तिकै थिए। कस्तो काम गर्न नसकेका लाज मर्नु भन्ने पनि थिए। तर भनेजति सजिलो थिएन। एक पाइलो हाल्दा दस हात परसम्मको माटो थलथलिन्थ्यो। जो गयो उही पुरिएला भन्ने पीर थियो। जति माटो झिक्यो उति वरिपरिबाट सरेर आइहाल्थ्यो। राज्यले केही गरेन पनि भने भन्नेहरूले। राज्य नै त्यही

दलदलमा थियो। सेना गएपछि वरिपरिबाट माटो खन्ने काम भयो। वरिपरि खनेर पानी कटाउने काम भयो। स्याउला काट्ने, ओसार्ने र मानिस डुबेको छेउमा खाँद्ने काम भयो।

कान्तिपुरबाट


  •  
  •  
  •