जाजरकोटमा मृतक संख्या २० पुग्यो

170
  •  
  •  
  •  

जाजरकोट, ५ बैशाख : जाजरकोटमा दुई सातादेखि फैलिएको महामारीले बिहीबार राति थप दुईको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्छाने–२ का ५० वर्षीय बलबहादुर नेपाली र अर्छाने–७ का ५८ वर्षीय हंशबहादुर शाही छन्। यससँगै मृतकको संख्या २० पुगेको छ।

टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्ने, हातखुट्टा झम्झमाउने, बान्ता आउनेलगायत समस्या देखिएका नेपाली र शाहीको उपचारक्रममा मृत्यु भएको अर्छाने स्वास्थ्यचौकीले जनाएको छ। अर्छाने गाउँमा महामारी फैलिएपछि रुकुमको चौरजहारीस्थित सामुदायिक अस्पतालले शुक्रबारदेखि निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ। अस्पतालका डा. सुमन राईको नेतृत्वमा अहेव, अनमीले बिरामीको उपचार गरिरहेका छन्। सदरमुकाम खलंगाबाट करिब ४५ किलोमिटर टाढा रहेको अर्छानेमा मौसमी ‘फ्लु’ का बिरामी ५ सयभन्दा बढी भेटिएका छन्। यो गाउँ पुग्न सदरमुकामबाट डेढ दिन हिँड्नुपर्छ।

अर्छाने, टालेगाउँ, सकला, पजारु, पैंकलगायत स्थानमा बिहीबार बेलुकासम्म २ हजार ५ सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटका महामारी शाखा हेर्ने फोकल पर्सन कृष्ण खत्रीले जानकारी दिए।

‘परीक्षण गरिएका मध्ये २०–२५ प्रतिशतमा ‘शंकास्पद फ्लु’ देखिएको छ, त्यस्ता बिरामीलाई विशेष निगरानीमा राखेका छौं,’ उनले भने। गत आइतबार नमुना परीक्षणका लागि राजधानीस्थित इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पठाइएका १२ जना बिरामीको खकारमध्ये तीन वटामा स्वाइनफ्लु भाइरस (एच१एन१) भेटिएको थियो। बिहीबार थप २२ बिरामीको रगत–खकारलगायत नमुना काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

भौगोलिक विकटताका कारण अझै कतिपय बिरामी स्वास्थ्यचौकी पुग्न नसक्दा घरमै थलिएका छन्। ‘अझै पनि गाउँमा थुप्रै बिरामी रहेको स्थानीयले जानकारी गराइरहेका छन्, विपन्न समुदायका बिरामी स्वास्थ्यचौकी आउन सकेका छैनन्,’ डा. राईले भने। सरकारले ती बिरामीलाई उपचार पहुँचमा ल्याउन नसकेको उनको भनाइ छ। सरकारी स्तरबाट केही चिकित्सक खटाइए पनि त्यो पर्याप्त नरहेको, गाउँगाउँलाई लक्षित गरी स्वास्थ्यशिविर सञ्चालन गर्न आवश्यक देखिएको डा. राईले जानकारी दिए। ‘स्वास्थ्यचौकीबाट ४–५ घन्टा टाढाका बस्तीमा रहेका बिरामीलाई अझै पनि उपचार पुर्यााउन सकिएको छैन,’ उनले भने।

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन खत्रीका अनुसार पैंकमा डा. विभान्त शाह, सकलामा डा. गुणनिधि शर्मा, टालेगाउँमा नेपाली सेनाका डा. त्रणम कार्की र पजारुमा डा. प्रमिलसिंह प्रधान खटिएका छन् । फिल्डमा चिकित्सक खटिएपछि सकला, पजारु र पैकमा महामारी पहिलेको तुलनामा नियन्त्रणमा आउन थालेको खत्रीले दाबी गरे। तर, विकट गाउँमा उपचार प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ।

– नागरिक दैनिकबाट


  •  
  •  
  •