विद्यालय भर्ना नभएका बालबालिका खाेज्दै हिड्छन् नगर प्रमुख

328
  •  
  •  
  •  

काठमाडाैँ, १५ बैशाख (अाेएनएस) :विद्यालय भर्ना नभएका बालबालिका खोज्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर घरदैलोमा पुग्न थालेका छन् ।विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर अभिभावकलाई उनले शिक्षाको महत्वबारे सम्झाउँदै हिडेका हुन् ।

शिक्षाबाटै देशलाई परिवर्तन गर्न सकिन्छ, अहिलेका बालबालिका भविष्यका कर्णधार भएकाले विद्यालय पठाउन कन्जुस्यार्इं नगर्नुस् नगरप्रमुख ऐरले नगरपालिकाको वडा नं ९ सिसैयामा पुगेर अभिभावकका घरमा पुगेर भने, “एक छाक खाएर भए पनि बालबालिकालाई विद्यालयमा भर्ना गराउनु हाेस् ।”

उनले थप्दै भने ,“सामुदायिक विद्यालयमार्फत निःशुल्क पाठ्यपुस्तक मिल्छ, कुनै शुल्क तिर्नु पर्दैन, गरीब र जेहनदारका लागि झोला, अभ्यास पुस्तिका र पोशाकका लागि छात्रवृत्ति मिल्छ, तपाईंहरुका बालबालिकालाई पढाउने दृढ इच्छाशक्तिको खाँचो छ।”

दिनको दुई घण्टा उनले शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिका खोजेर विद्यालयमा ल्याउनका लागि आफैँ घरदैलोमा पुग्ने कार्यलाई निरन्तरता दिँदै आएको वडा नं ९ का वडाध्यक्ष रमेश ऐरले बताए।

“नगर प्रमुख आफैँ घरदैलोमा पुग्न थालेपछि बालबालिकालाई आफूसँगै मजदूरीमा लैजाने अभिभावक प्रतिबद्धता जाहेर गर्दै बालबालिकालाई विद्यालय भर्ना गराउन थालेका छन्”, वडाध्यक्ष ऐरले भने । नगर प्रमुख आफैँ घरदैलोमा पुगेर चेतना छर्न थालेपछि निजी विद्यालयमा पढाउँदै आएका अभिभावकले समेत बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन् ।

जनचेतनामूलक कार्यक्रम गरिएपछि राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा मात्रै १६ जनाभन्दा बढी निजी विद्यालयमा पढ्दै आएका बालबालिका भर्ना भएका छन् ।


  •  
  •  
  •