रौतहट, ६ भदौ : रौतहटको पिप्रारजवडास्थित बागमती नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका ३ मध्ये शुक्रबार २ जनाको शव फेला परेको छ । १ जनाको अवस्था अज्ञात छ । बागमती पारी खेतबाट घाँस लिएर घर फर्कदैं गर्दा नदीमा बाढीको धार बढे पछि बिहीबार साँझ डुंगा पल्टिएको थियो । डुंगामा सवार ६० मध्ये बगाएर पारी पुर्याएका ४० जनाको सुरक्षाकर्मी र नेपाली सेनाले मोटरबोटबाट उद्धार गरेको थियो ।
छिमेकी सर्लाहीबाट घाँस बोकेर फर्कदैं गरेको पिप्राराजवडाका ६० जना चढेको काठे डुंगा बागमती नदीमा पल्टिएका थियो । दुर्घटनामा बेपत्ता भएका सुखनीदेवी पण्डित, दुखनीदेवी दासको शव दुर्घटनास्थलबाट २ किमि दक्षिणमा फेला परेको डिएसपी भिम ढकालले जनाए ।
हराइरहेका महादेव महतो भने फेला नपरेको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको छ । डुंगा दुर्घटना लगत्तै स्थानीय र नेपाल प्रहरीले उद्धार गरेक थिए । घटनाको खबर पाउना साथ नेपाली सेनाको अमरदल गुल्मका सेनानी अच्युतबहादुर शाहको टोली मोटरबोट लिएर नदीमा पुगेको थियो । डुंगा चालक नथुनी साहका अनुसार नदीको भेल बढे पछि पल्टिएको हो । डुंगा दुर्घटना पछि बगाएकाहरुलाई ट्युबको सहायताले स्थानीयले बाहिर निकालेका थिए । बेपत्ताहरुको रातभर सुरक्षाकर्मी र स्थानीययले खोजी गरेका थिए ।
गाउँका स्थानीय घाँस लिन सधैं डुंगाको सहायताले सिर्लाही जाने गर्दथे । डुङ्गामा क्षमता भन्दा बढी मानिस राखेर पनि घटना भएको हुन सक्ने एक सुरक्षाकर्मीले बताए ।