यी दुर्इ देशले नेपालमै कार्यालय खोलेर निःशुल्क कामदार लैजाने

646
  •  
  •  
  •  

काठमाडौं, २५ असाेज (ओएनएस) : दुई वटा खाडी मुलुक कतार र युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपालमा नै कार्यालय खोलेर नेपाली कामदार लैजाने भएका छन्। नेपाली श्रमिक आपूर्ति गर्दै आएका यी दुर्इ देशमा अब नेपाली कामदारलार्इ राहत मिल्ने अनुमान गरिएकाे छ। यसरी आपूर्ति गरिने कामदारका सबै प्रक्रिया निशुल्क र सरकारीस्तरमा नै हुने बताईको छ।

वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाका लागि सरकारीस्तरमै श्रम समझदारी (एमओयु) गरेर मात्र श्रमिक आपूर्ति गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जोड दिँदै आएको छ।श्रममन्त्री गोर्कण विष्टले नेपाली श्रमिक आपूर्ति गदै आएका देशका कुटनीतिक नियोगका प्रतिनिधिसँग यस विषयमा छलफल गरिरहेको मन्त्रालयले जानकारी दिए।

गत साता नेपालका लागि युएईका राजदूत सईद हमदम अल नाक्वीसँगको भेटमा मन्त्री विष्टले युएईमा कार्यरत नेपालीका लागि २४ घन्टे बीमा, करारबमोजिम नै न्यूनतम तलबसहित अन्य सुविधा दिन आग्रह गरेका थिए। मन्त्रीसँगको भेटमा राजदूत नाक्वीले युएई सरकारले नेपाली कामदार सरकारीस्तरबाटै लैजान चाहेको धारणा व्यक्त गरेको मन्त्रालयले जानकारी दिएको छ।

निश्चित मापदण्ड निर्धारण गरेर सरकारीस्तरमै फ्रि–भिसा र फ्रि–टिकटमा कामदार आपूर्ति गर्ने मन्त्री विष्टको आग्रहलाई राजदूत नाक्वीले सकारात्मक रुपमा लिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए।यसैगरी, कतारले पनि नेपालमै श्रम कार्यालय खोलेर सरकारीस्तरबाट वार्षिक १ लाख श्रमिक आपूर्ति गर्ने भएको छ। कतारका सरकारी प्रतिनिधि र श्रम मन्त्रालयका उच्च अधिकारबीच यस विषयमा छलफल भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ।


  •  
  •  
  •