सहमति जुटाउन कार्यदलको बैठक

76
  •  
  •  
  •  

काठमाडौं, १९ असोज (ओएनएस) दसैं विदामा समेत संविधान निर्माणको काममा जुट्ने बताएका मुख्य दलहरुले आजदेखि छलफललाई तिव्रता दिने भएका छन् । संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विवादित विषयमा सहमति जुटाउने प्रयास स्वरुप आज शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो ।

हिजो बसेको तीन दलको कार्यदल बैठकले मंगलवारसम्ममा निष्कर्ष ल्याउनेगरी छलफललाई तिव्रता दिने निर्णय गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए। रावलका अनुसार  छलफललाई निष्कर्षमा पुर्याउनेगरी दलहरुबीच गृहकार्य भैरहेको छ ।यसअघि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले १४ गतेभित्र विवादित विषयमा सहमति जुटाइसक्ने भनेपनि दलहरुका आआफ्ना अडानका कारण सहमति जुट्न सकेको छैन । पर्सि २१ गतेभित्र सहमति गरिसक्ने र सहमति नभएपनि २२ गते बस्ने संविधानसभा वैठकमा प्रतिवेदन पेश गरेर छलफल अगाडि बढाउने दलहरुले बताएका छन् ।

कांग्रेस र एमालेले सहमति नभएका विषय प्रक्रियाबाट टुंगो लगाउने बताएका छन् भने एकीकृत माओवादी र मधेसी दलले प्रक्रियामा जान नहुने अडान लिंदै आएका छन् । सोही विषयमा सहमति जुटाउन  गठित चार दलीय कार्यदलको शनिबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो । बैठकमा संविधान निर्माणका विवादित विषयमा सहमतिको प्रयास भएपनि निश्कर्ष निस्किएन । छलफल सकरात्मक रहेको र आज बिहान १० बजे पुन कार्यदलको बैठक बस्ने एमाले नेता तथा कार्यदल सदस्य अग्नी खरेलले जानकारी दिए ।

विवादित विषयमा सहमति जुटाउन भन्दै मूख्य तीन दल र नेकपा(माओवादी सम्मिलित कार्यदल गठन गरिएको थियो । कार्यदलमा कंग्रेसका तर्फबाट महामन्त्री कृष्ण सिटौला र महेश आर्चाय, एमालेका तर्फबाट भीम रावल र अग्नी खरेल, एमाओवादीका तर्फबाट महासचिव कृष्ण बहादुर महरा र खिमलाल देवकोटा तथा नेकपा माओवादीबाट पम्फा भुसाल र देव गुरुङ छन् । दलहरु मंगलबारभित्र विवादित बिषयमा सहमति जुटाउने प्रयासमा छन् ।


  •  
  •  
  •