१८ वर्षका नेपाली ह्याकर पक्राउ

278
  •  
  •  
  •  

काठमाडौँ, १० चैत(ओएनएस) : विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूको वेबसाइट ह्याक गर्ने एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले तनहुँ जिल्ला घर भई हाल बालाजु हाइट बस्ने १८ वर्षीय विकास पौडेललाई पक्राउ गरेको हो ।

एनोनेमस ओपनेपको नामबाट विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको वेबसाइट ह्याक गरेको आरोपमा पौडेललाई सोह्रखुट्टे क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय समेतका कार्यालयहरूको वेबसाइट ह्याक भएपछि अनुसन्धानमा लागेको प्रहरी टोलीले पौडेललाई पक्राउ गर्न सफल भएको हो ।

अनुसन्धानको क्रममा पौडेलले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध विकास संस्थान, नेपाल दुरसंचार संस्थानका केहि प्रयोगकर्ताहरुको विवरण एवं विभिन्न शैक्षिक संस्थाहरु लगायत करिब २०० वटा वेबसाईटहरु ह्याक गरेको खुल्न आएपछि प्रहरीले अनुसन्धान जारी राखेको थियो ।


  •  
  •  
  •