काठमाडौं १४ कात्तिक ।
१८ वर्षीया किशोरी निमछिकी शेर्पा तीन सन्तानकी आमा बनेकी छिन्। अशिक्षा र अज्ञानताले गर्दा उनले १४ वर्षमै बिहे गरिन् र लगातार तीन बच्चा जन्माइन्।
स्याबुन-५ देउराली चित्रेका फुर्तेम्बा शेर्पासँग २०६८ सालमा विवाह गरेकी उनका तीन वर्षीया जेठी छोरी निमलमु, दुई वर्षीय छोरा तेन्जी र एक महिनाका छोरा लाक्पा शेर्पा छन्। २०५३ चैत २० गते जन्मिएकी उनी आमा बनेकोमा आफैं छक्क मान्छिन्।
तीन सन्तानकी आमा भए पनि उनी छोराछोरीसँगै खेल्ने गर्छिन्।उनमा बच्चालाई स्तनपान गराउने तरिका, पोषकतत्व र सरसफाइबारे कुनै ज्ञान छैन। उनी आफैं सानो उमेरकी भएकीले आफ्ना सन्तानलाई कसरी पालनपोषण गर्ने र हुर्काउने भन्ने ज्ञान पनि छैन।
कसरी हुर्काउँछौ यी सन्तान भन्ने जिज्ञासामा उनले ‘आफैं हुर्किन्छन्’ भन्ने जबाफ दिइन्।गाउँमा दुई वर्षमुनिका बालबालिकालाई खुवाउनुपर्ने खानेकुराका विषयमा अभिभावक नै जानकार हुँदैनन्। त्यस कारण बालबालिका कुपोषित हुने गर्छन्।
किशोरी आमाहरू भने स्वास्थ्यसम्बन्धी ज्ञान नहुँदा अकालमै मृत्यु हुने जोखिममा रहेका हुन्छन्।निमछिकीका पति ६ महिनाअघि खाडी मुलुकमा रोजगारका लागि गएका छन्। सासूससुरासँग छुट्टिएर बसेकी उनी सामान्य काम गरेर गुजारा चलाउँदै आएकी छिन्।
नुम-४ की १६ वर्षीया सीता विक र १६ वर्षीया सविता गुरुङ (विक) पनि काखे बच्चा हुर्काउन व्यस्त छन्। सोही गाउँकी १५ वर्षीया विमला तामाङले १२ वर्षकै उमेरमा बिहे गरी १४ वर्षमा बच्चा जन्माएकी थिइन्।
उनीहरू कोही पनि कखरा चिन्दैनन्। सानैमा गाउँमा भागी विवाह भएकाले पढ्न नपाएको उनीहरूले बताए।वरुण बहुमुखी क्याम्पसका प्रमुख टीकाराम गुरुङ किशोरकिशोरी चाँडै निर्णय लिन तत्पर हुने तर परिपक्व नहुने भएकाले यस्ता समस्या आउने गरेको बताउँछन्।
अभिभावक नै यसमा प्रमुख जिम्मेवार हुनुपर्ने उनले बताए।जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले किशोरी अवस्थामा विवाह नगर्न र बच्चा नजन्माउन कार्यालयले सचेतना फैलाउने काम गरिरहेको बताए।
उनले स्वास्थ्य संस्थामा गर्भवती जाँच गर्न आउने आमाहरूलाई अवस्था हेरेर थप सचेतना पनि दिने गरेको बताए। कार्यालयले दुर्गम क्षेत्रमा देखिएका समस्या समाधान गर्न थप कार्यक्रम सञ्चालन गर्ने लक्ष राखेको पनि उनले जानकारी दिए।
दुर्गम गाउँका किशोरी १४ वर्षदेखि नै आमा बन्ने गरेका प्रसस्त उदाहरण भेटिन्छन्। गैरसरकारी संस्था महासंघका अध्यक्ष मनबहादुर लिम्बू यस्ता किशोरी आमा बन्ने क्रम नरोकिएकाले स्वास्थ्य शिक्षा थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउँछन्। अन्नपूर्णपोष्टबाट