काठमाडौँ, १० चैत(ओएनएस) : नेपाल र चीनले १५ बुँदासहितको संयुक्त विज्ञप्ति जारी गरेका छन् । प्रधानमन्त्रीको बेइजिङ भ्रमणको अन्तिम दिन दुई देशबीच बुधबार मध्यान्ह संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरिएको हो ।
संयुक्त विज्ञप्तिमा नेपालको नयाँ संविधानको चीनले स्वागत गरेको छ भने नेपालले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ । नेपालले आफ्नो भूमिबाट चीनबिरोधी कुनै पनि गतिबिधी हुन नदिने प्रतिबद्धता जनाएको छ ।
दुवै देशले एक अर्काको देशको स्वतन्त्रता, स्वाधिनता, भौगोलिक अखण्डता, सार्वभौमसत्ताप्रति सम्मान गर्दै अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको उल्लेख गर्दै दुई देशबीच विकास र सम्बृद्धिका नयाँ सम्भावनाहरू खुलेको जनाइएको छ ।
दुई देशले जारी गरेको विज्ञप्तिमा इन्धन आयात सम्झौतालाई सकेसम्म चाँडै टुंग्याउने तथा इन्धन भण्डारण स्थल निर्माणका लागि पनि चीनले सहयोग गर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा चीनले नेपालमा तिब्बत रेलमार्ग बिस्तारको संभाव्यता अध्ययन गर्न प्राविधिक र आर्थिक सहयोग गरिएको छ । साथै चार वर्षभित्र तिब्बतको केरुङ आइपुग्ने रेलमार्ग काठमाडौँ र त्यहाँबाट पोखरा हुँदै लुम्बिनीसम्म बिस्तारका लागि संभाव्यता अध्ययन विस्तृत परियोजना प्रतिवेदन तयार गर्न चीनले प्राविधिक र आर्थिक सहयोग गर्ने उल्लेख छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा १० वटा सम्झौता तथा समझदारी समेत भएको थियो ।