एमाओवादीका प्रभु शाहसहित १४ मधेसी नेताको विद्रोह

867
  •  
  •  
  •  

काठमाडौ, २ असोज(ओएनएस) : मोदीका विशेष दूतका रूपमा नेपाल आएका विदेश सचिव एस जयशंकर फर्केलगत्तै एमाओवादीका १४ मधेसी नेताहरूले असोज ३ मा जारी हुन लागेको संविधान विभेदकारी भएको बताएका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै १४ मधेसी नेताहरूले संविधानले मधेस/थरूहटलाई विभेद गरेको र सरकारले दमनको कार्यलाई कायमै राखेको उल्लेख गर्दै विषम तथा प्रतिकूल परिस्थितिमा सबैलाई नसमेटी संविधान निर्माण गर्नु दुस्साहसपूर्ण र आत्मघाती कार्य भएको उल्लेख गरेका छन् ।

आन्दोलनका क्रममा चार दर्जनले आफ्नो ज्यानको बलिदान दिइसकेको यस्तो अवस्थामा कांग्रेस-एमालेको लहैलहैमा लागेर दिपावली र संयुक्त सभा जस्ता विजय उत्सव मनाउने निर्णयमा पार्टी पुग्नु आफूहरूका लागि असहनीय र पिडादायी भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले पार्टीको यो निर्णय फिर्ता लिई आन्दोलनमा आउन अनुरोध गर्दछौ । अन्यथा, हामी यसप्रकारको दुस्साहसपूर्ण कार्यमा सहभागि नहुने व्यहोरा सहित सम्वन्धित पक्षलाई जनकारी गराउन चाहन्छौ ।’

यसअघि शुक्रबार मोदीका विशेष दूत एस जयशंकरलाई एमाओवादीका ३ मधेसी नेताले भारतीय दुतावासमा भेटेका थिए । जयशंकरलाई भेट्ने एमाओवादीका मधेसी नेताहरुमा रामरिझन यादव, प्रभु शाह र रामकुमार शर्मा रहेका छन् ।

प्रेस वक्तव्य
असोज २०७२/६/२

नेपाली जनताको महान उत्सर्गवाट प्राप्त भएको उपलव्धिहरुलाई संस्थागत गर्ने नाममा जारी हुनगइरहेको विभेदकारी संविधानको कारणले सिंगो मधेश/थरुहट आज जलिरहेको छ । अहिलेसम्म आन्दोलनको क्रममा चार दर्जनले आफ्नो ज्यानको वलिदान दिइसकेका छन र सयौ योद्धाहरु घाइते अवस्थामा रहेका छन् । तर पनि सरकारले बर्बरतापूर्ण दमनात्मक रवैया जारी नै राखेको छ । यस्तो विषम तथा प्रतिकूल परिस्थितिमा सवैलाई नसमेटी संविधान निर्माण गर्नु आफैमा दुस्साहसपूर्ण र आत्मघाती कार्य हो । यो देश, जनता र पार्टीको हितमा छैन ।

पार्टीले मधेश/थरुहटको विषम परिस्थितिलाई आकलन नै नगरि कांग्रेस÷एमालेको लहैलहैमा लागेर दीपावली र संयुक्त सभा जस्तो विजय उत्सवसम्म मनाउने निर्णयमा पुग्नु हाम्रोलागि असहनीय र पिडादायी भएको छ । त्यसैले पार्टीको यो निर्णय फिर्ता लिई आन्दोलनमा आउन अनुरोध गर्दछौ । अन्यथा, हामी यसप्रकारको दुस्साहसपूर्ण कार्यमा सहभागि नहुने व्यहोरा सहित सम्वन्धित पक्षलाई जनकारी गराउन चाहन्छौ ।
एकीकृत नेकपा(माओवादी)का केन्द्रीय समितिका सदस्यहरुः
(१) क.रामचन्द्र झा, पोलिट व्यूरो सदस्य
(२) क.विश्वनाथ शाह, पोलिट व्यूरो सदस्य
(३) क.प्रभु साह, पोलिट व्यूरो सदस्य
(४) क.महेन्द्र पासवान, पोलिट व्यूरो सदस्य
(५) क.रामरिझन यादव, केन्द्रीय सदस्य
(६) क.रामकुमार शर्मा, केन्द्रीय सदस्यवाट राजिनामा दिइसकेको

(७) क. हकिकुल्ला खाँ केन्द्रीय सदस्य
(८) क.भरत साह, केन्द्रीय सदस्य
(९) क.घनश्याम यादव, केन्द्रीय सदस्य
(१०) क. रामचन्द्र मण्डल, केन्द्रीय सदस्य
(११) क.उपेन्द्र प्र. साह, केन्द्रीय सदस्य
(१२)क. चिनक कुर्मी केन्द्रीय सदस्य
(१३)क. कलामुदीन राइन, केन्द्रीय सल्लाहकार
(१४) क.रमेशरञ्जन झा, केन्द्रीय सल्लाहकार


  •  
  •  
  •