राजन मुकारुङका १४ प्रेमिका

271
  •  
  •  
  •  

कक्षा ६ मा पढ्दै थिएँ, सँगै राधा राई पढ्थिन् । उनलाई खुब मन पराउँथेँ । त्यसैताका प्रकाश कोविदको उपन्यास ‘अर्को जन्म’ पढेको थिएँ । त्यसको ‘पुरन’ आफू र ‘सुजाता’चाहिँ राधा भए हुन्थ्यो भन्ने लाग्थ्यो । प्रेम बुझ्ने उमेर त भएको थिएन । तर, त्यस्तै लाग्थ्यो ।

हामी बिस्तारै नजिकको साथी बन्यौँ । तर, मन पराउने कुरा भन्न सकिनँ । केही समयपछि नै उनी अर्को विद्यालय गइन् । त्यो प्रेम एकतर्फीमात्रै रह्यो । त्यसपछि भेट भएको छैन । उनको नाममा लेखेको तीन कविता ‘सेतो आरोहण’ संग्रहमै लेखेको छु ।

०००

कक्षा ८ मा पुगेपछि म अर्को प्रेममा परेँ । उनी गौतम थरकी छिमेकी थिइन् । अर्कै स्कुलमा कक्षा ६ मा पढ्थिन् । म अलि चकचके स्वभावको थिएँ । साँधमा उनको उखुबारी थियो । म उखु चोरी खान्थेँ । उनको बुबाआमाले ‘त्यो किरुवाले उखु खाइसक्यो’ भनेर उनलाई रुंग्न पठाउँथेँ । उखुबारीमा खुब बाझ्थ्यौँ हामी । एक दिन त झगडै पर्‍यो । मैले पिटिदिएँ । उनी रुन पो थालिन् । रुन थालेपछि भने माया लाग्यो । अनेक गरी फकाएँ । त्यसपछि हामीमा एकखालको भावनात्मक सम्बन्ध बन्यो । त्यो प्रेममा बदलियो । म त यस्तो एकोहोरो भएँ कि स्कुल नै जान छाडेँ । उनी ८ कक्षा नपुगुन्जेल परीक्षा नै दिइनँ । दुई वर्षपछि उनी अर्को स्कुलबाट ७ कक्षा पास गरेर म पढ्ने स्कुल आइन् र सँगै पढ्न थाल्यौँ । प्रेम झ्यांगिँदै थियो ।

८ कक्षाको अन्तिमतिर पुग्दा उनलाई लाहुरे माग्न आएछ । गाउँमा लाहुरेलाई खुब मान्छन् । छोरीको उमेरको सरोकार नै हुँदैन । बाबुआमाले दिएछन् ।

उनी भने बिहे हुने तीन दिनअगाडि बेलुका पोको–पन्तुरो बोकेर आइन्, भागौँ भनेर । तर, त्यतिखेर भगाउने आँट थिएन । त्यसैले परिवारले दिएको ठाउँमा बिहे गर्नु राम्रै हो भनेर सम्झाई पठाएँ । उनको बिहे भयो । म भने पीडामा छटपटिएँ । बिहे हुनुअघि नै गाउँ छोडेर मधेसतिर झरेँ, तनाव कम गर्न । त्यतिवेलै सिकेको हुँ– चुरोट, जाँड–रक्सी र खैनी खान । त्यसपछि लत नै बस्यो । बिहे भए पनि उनलाई पल्टन लगेन, श्रीमान्ले । १० कक्षासम्म सँगै पढियो । निकटता भने उनको विवाहसँगै सकियो । तर कथा सकिएन ।

उनका दुई बहिनी थिए । उनले माइली बहिनीसँग मेरोबारे कुरा गर्दिरहिछिन् । बहिनीचाहिँ मलाई दिदीले पीर गर्नुहुन्छ भनेर सुनाउँथिन् । त्यो सुन्ने–सुनाउने हुँदाहुँदै हामी पो प्रेममा परेछौँ । एकैछिन नछुटौँझैँ लाग्ने, त्यति नजिकै पनि चिठी लेख्ने ।

चिठी ओसारपसार गर्नेचाहिँ उनकी कान्छी बहिनी हुन्थिन् । उनले चाहिँ चिठी हेर्दिरहिछिन् । त्यस क्रममा उनी मप्रति क्रेजी बनिछन् । अहिले पनि तीन दिदीबहिनीसँगको त्यो शृंखलाबद्ध प्रेम सम्झँदा भावुक हुन्छु । म ९ कक्षामा पुगेपछि बिहे भयो । ती सबै प्रेम पनि समाप्त भयो ।

०००

मेरो बिहेचाहिँ मागी पनि होइन, प्रेम पनि होइन । यसलाई मैले ‘ट्रिक म्यारिज’ भन्ने गरेको छु । मेरी श्रीमती प्रगति राई र माइलामामाकी छोरी साथी थिए । मामाकी छोरीले हाम्रो गाउँमा घुमाउन भनेर ल्याएकी थिइन् । आमाले ‘बिहे गर्ने ?’ भनेर जिस्काउन थाल्नुभयो । निकैपटक जिस्काएपछि मैले पनि हुन्छ भनिदिएँ । त्यसपछि उनलाई फर्किनै दिइएन । फकाइफुलाई त्यहीँ राखियो । त्यो ‘ट्रिक’चाहिँ मामाको छोरीले खेलेको हो । बिहे गराउनै भनेर फूपूको घर घुम्न जाउँ भनेर ल्याएकी रहिछिन् ।

बिहे भइसकेपछि मेरो पढाइको रफ्तार बढ्न थाल्यो । तेस्रो वर्ष पनि तनावले ८ कक्षाको रिजल्ट कमजोर आएको थियो । अर्कातिर आफन्तले पनि ‘तँ बिग्रिस्’ भनेर तनाव दिन थाले । त्यसपछि मैले मिहिनेत गर्न थालेको हुँ ।

त्यस क्रममा केटी साथी अलि बढी नजिकिन थाले । स्कुलमा अतिरिक्त क्रियाकलापमा सक्रिय हुन्थेँ, त्यसबाट प्रभावित हुनु स्वाभाविक हो । त्यसै क्रममा एकजना राई साथी नजिकिइन् । उनी सिर्जनशील त थिइनन् । तर, मलाई मन पराउँथिन् । चिठी लेख्थिन्, फोटो पठाउँथिन् । मैले भने वास्तै गरिनँ । किनभने, मेरो बिहे भइसकेको थियो । तर, उनले मन पराएपछि भावुक त भइहालिन्छ । त्यसैले चित्त दुखाउने केही भनेको थिइनँ । हुँदाहुँदा एक दिन त घरैमा आइन् । संयोगले म पनि नभएको र प्रगति पनि माइत गएको वेला परेछ । आमाले सम्झाएर पठाउनुभएछ ।

०००
त्यसै क्रममा अर्की साथीसँग सम्बन्ध बन्यो । उनी कविता, कथा लेखेर मलाई देखाउँथिन् । म पनि कविता, उपन्यास लेख्थेँ । त्यतिवेला मैले त्यस्तै पाराका २० वटा जति उपन्यास लेखेँ होला । त्यो साटासाट गर्दागर्दै हामी यति नजिकियौँ कि, झन्डै सीमा उल्लंघन भएन । हाम्रो सम्बन्ध एसएलसीको अन्तिम दिन ‘ब्रेकअप’ भयो । त्यो दिन उनले मलाई डायरी दिइन् । त्यसमा सायरी, फोटो बीचबीचमा राखेकी रछिन् । मैले हेर्नै नपाई साथीहरूले खोसेर लगिहाले । उनी इसाराले ‘हेर्न नदे’ भन्दै थिइन् । तर, मैले दिएँ । उनको चित्त दुखेछ । सम्बन्ध नै बिग्रियो । क्याम्पस सँगै पढ्यौँ । तर, सम्बन्ध त्यति सुमधुर रहेन । डाह गर्ने र एकअर्कालाई होच्याउने पाराको भयो ।

०००

पछि सदरमुकामस्थित कलेजमा भर्ना भइयो । अल्छी लागेर कलेज कमै जान्थेँ, गाउँमै बसिन्थ्यो । त्यतिवेला नाटक गर्ने भइयो । आफैँ गीति नाटक लेखेर आफैँ खेलियो, नायक भएर । एकजना गाउँकै केटी साथीलाई नायिका बनाइयो । तर, नाटकको प्रेमकथामा भिज्नुपर्छ भन्दाभन्दै हामी नै प्रेममा भिज्न पुगेछौँ । उनले ‘नाटकमा जस्तै वास्तविक जीवनमा भए’ भन्ने सोच्न थालिछिन् । हामी प्रेममा पर्‍यौँ । लगभग दुई वर्षपछि उनको बिहे भयो । त्यो सम्बन्ध पनि सकियो ।

०००
आइए पास गरिसकेपछि खोटाङमा पढाउन गएँ । विद्यालय र गाविसको अनुरोधमा माध्यमिक स्तरमा नेपाली पढाउन थालेँ । पढाउने क्रममा शिक्षक र विद्यार्थीबीच प्रेम र सद्भाव हुनु स्वाभाविक हो । मसँग अलि बढी नै झ्याम्मिन्थेँ विद्यार्थी । बाटोमा सँगसँगै हिँड्न चाहन्थे । टेस्ट परीक्षाको तयारीमा रहेका विद्यार्थी र मेरोबीच उमेर पनि धेरै फरक थिएन ।

एक दिन स्कुलबाट विद्यार्थीसँग गफ गर्दै फर्कंदै थिएँ । त्यस क्रममा मैले के ठट्टा गरेँ कुन्नि, एकजना झन्डै मेरै उमेरको छात्रा यस्तरी हाँसिन् कि म निकै आकर्षित भएँ । भोलिपल्टदेखि कक्षामा उनलाई अलि ध्यान दिन थालेँछु । त्यस्तो हुँदाहुँदै उनीसँग भावनात्मक हिसाबले नजिक भइयो । उनले होमवर्क बुझाएको कापीमा चिठी पठाइन्– तपाईं मन पर्छ भन्ने भाव लेखेर ।

अर्की विद्यार्थी थिइन् मेरै उमेरकी । उनको विवाह सैनिक जवानसँग भएको रहेछ । तर, माइती माओवादी समर्थक भएकाले सम्बन्ध टुटेको रहेछ । उनले एक दिन चौतारोमा भेटेर ‘थुइक्क, सरले त्यस्ती केटीसँग पनि लभ गर्ने ? त्यो त ठीक केटी होइन’ भनिन् । अनि मैले सोधेँ, ‘तिमीसँग चाहिँ गर्नुपर्ने त ?’ उनी लजाइन् । सायद उनको भाव त्यही थियो । त्यस दिनदेखि पहिलेको विद्यार्थीसँग टाढा हुँदै गइयो र उनीसँग नजिकिन थालियो । त्यो सम्बन्ध प्रेममा बदलिन थाल्यो ।

उनकी बहिनी पनि सँगै पढ्थिन् । दिदीसँग म नजिकिएको देखेर बहिनीलाई डाह भएछ । त्यसपछि उनले ट्युसन पढ्ने ग्रुप बनाइन् र पढाउन अनुरोध गरिन् । मैले पढाउन थालेपछि उनी अरूभन्दा १५/२० मिनेटअघि नै आउँथिन् र दिदीको विरोध गर्थिन् । पहिले नै बिहे भइसकेकोलगायत कुरा गर्थिन् । उनीहरू टेस्ट पास गरेर गइसकेपछि सम्बन्ध पनि सकियो ।

०००

पछि पनि प्रेमको चक्करले छाडेन । त्यसवेला सन यात्सेनको जीवनी पढाउनुपथ्र्यो । त्यसमा उनको प्रेमकथा छ । ५० नाघिसकेका यात्सेनलाई आह मेइ भन्ने १९ वर्षीया केटीले पिछा गरेर बिहे गरेरै छाड्छे । त्यो जीवनी पढाइरहँदा एउटी विद्यार्थीले मलाई हेरेको हेर्‍यै गर्थिन् । पछि उनले भनिन्, ‘सरलाई एउटा कुरा भन्नु छ ।’ तर, भन्नचाहिँ सकिनन् । धेरैपल्ट भन्न खोजिन् । तर, सकिनन् । १२/१३ दिन पछाडि होला, म कतै गएर फर्केको थिएँ । म बस्ने घर जान उनकै घरको बाटो भएर जानुपथ्र्यो । उनी घरछेउको धारोमा कपडा धुँदै रहिछिन् । उनले मलाई बोलाएर फेरि ‘सरलाई एउटा कुरा भन्नु छ,’ भनिन् । मैले भनेँ, ‘तिमीले धेरै भइसक्यो भन्न खोजेको । भन न के हो कुरा ?’ त्यसपछि उनले बल्ल मुख खोलिन्, ‘म त तपाईंको आह मेई ।’

छक्क परेर भनेँ, ‘के भन्छ फटाही ?’ उनले भनिन्, ‘हो सर ।’ त्यसपछि मैले उनलाई सम्झाएँ, ‘म पहिले नै विवाहित, बाबु भइसकेको मान्छे, त्यस्तो सोचेर भविष्य बिगार्नुहुँदैन ।’ बल्लबल्ल उम्किएँ ।

त्यसपछि मलाई दिक्क लाग्यो । तीन वर्ष भइसकेको थियो पढाउन थालेको । काठमाडौं जान्छु भन्ने सोचेर स्कुलबाट बिदा मागेँ । स्कुलले बिदाइ कार्यक्रम राख्ने भयो । भोलिपल्ट बिदाइको कार्यक्रम थियो । म अघिल्लो दिन नै भागिदिएँ, विद्यार्थीको रोनाधोना हेर्न मन नलागेर ।

०००

काठमाडौं आएर त्रि–चन्द्रमा बिए पढ्न थाले । पोखराबाट आएकी साथी भेटिइन् । त्यतिवेला काठमाडौंमा केटीसँग पनि हात मिलाउने र अँगालो मार्ने चलन आइसकेको थियो । एक दिन उनले हात मिलाएर अँगालो मार्ने क्रममा चुम्बन गरिन् । म त रननन्नँ भएँ । दिमागै चट् भइगो । त्यसपछि उनीसँग नजिकिन थालँे । उनको पश्चिमी ‘टोन’ मलाई धेरै मन पथ्र्यो, मेरो पूर्वेली ‘टोन’ उनलाई मन पर्ने रहेछ ।

क्याम्पसमा पूर्वको ग्याङ बन्दै गयो । त्यसमा आदिवासी जनजाति बढी थिए । एकजना केटी पनि थिइन्, शेर्पा थरकी । उनले पश्चिमकी साथी मेरो छेउमा बसेको पनि मन नपराउने । एकदिन मुखै फोरेर भनिन्, ‘किन त्यस्ताको संगत गरेको ?’

त्यही वेला म गाउँ गएँ । अढाई महिना बसेँ । त्यतिवेला ती शेर्पा साथीले मेरोबारे सोधिछन् । मैले बिहे गरेको थाहा पाइछन् ।

काठमाडौं आएपछि उनीसँग भेट भयो । हामीबीच तँ–तँ, म–म चल्थ्यो । उनले भनिन्, ‘तुरुन्तै मेरोमा आइज त ।’ गएँ । ढोकाबाट यसोभित्र पसेर के छ भने ।

‘थुक्क, गाउँमा गएर झन् कालो भएछ,’ उनले भनिन् । ‘काम गर्नुपर्छ, घामले डढिन्छ । अनि, कालो नभए के हुन्छ त ?’ मैले भनेँ ।
त्यसपछि सोधिन्, ‘बाबु कत्रो भो ?’ केटाहरूले सुनाएछन् भन्ने थाहा भइगो ।
फेरि सोधिन्, ‘बिहे गरेको पहिले किन भनिनस् ?’
‘तैँले सोधिस् र, मैले भन्नु ?’
‘साले पहिले नै भनेको भएदेखि म तँलाई माया नै गर्दिनथेँ,’ उसले भनी ।
‘तैँले मलाई माया गर्छेस् भन्ने पनि त थाहा छैन नि,’ मैले भनेँ ।
त्यसपछि हामी झनै नजिकियौँ । तर, कलेजसँगै उनीसँगको प्रेम पनि छुट्यो ।
त्यसपछि म पत्रिकामा काम गर्न थालेँ । घरबाट श्रीमती पनि आइन् । परिवार भएपछि दायाँबायाँ गर्ने कुरा पनि भएन । विद्यार्थी जीवनसँगै प्रेमको चक्कर पनि सकियो ।

०००

तीन वर्षअघि श्रीमती कोरिया गइन् । जान्छु भनिन्जेल त तनाव लागेन । तर, जुन दिन गइन्, त्यसपछि चाहिँ म पूरै विचलित भएँ । केही गर्नै नसक्ने, खाना पनि नरुच्ने । बिहान चिया खायो, बेलुका रक्सी । तीन महिनाजति मेरो दिमाग पूरै ड्यामेजजस्तो भयो । केही सिर्जनात्मक कुरा सोच्नै सकिनँ । खालि नकारात्मक कुरामात्रै आउने, दिमागमा पनि । मलाई छोडेर गई, पैसावाल भई, अब हेप्छे भन्ने लागिरहन्थ्यो ।

धेरै रक्सी खान थालियो । एक दिन त अनामनगरमा दिउँसो २ बजेदेखि राति ११ बजेसम्म खाइएछ । कोटेश्वर कोठामा आउन ट्याक्सी चढियो । अर्को साथी थियो, मभन्दा पनि मातेको । मचाहिँ ट्याक्सी चढेपछि निदाइगएँछु । साथी र ट्याक्सी ड्राइभरको चाहिँ कुन बाटो जाने भन्ने कुरैमा विवाद परेछ । झगडा गरेछन् । कोटेश्वर पुलिस चौकीनेर चोकमा पुगेपछि म ब्युझिएँ । पुलिसहरू पनि थिए । मैले झरेर पैसा दिएँ । पुलिसहरूले ‘तपाईंहरूलाई यहाँबाट भित्र लाँदैन, हिँडेर जानुस्’ भने । हामी हिँडेर जाँदै थियौँ, पछाडिबाट आएर एक्कासि भकुर्न थाले ड्राइभरहरूले । मलाई पछाडिबाट हानेछन् । घोप्टो परेर लडेँछु, थुतुनो बजारिएछ । मलाई धेरै कुटेनछन् । साथीलाई चाहिँ धेरै कुटेछन् । पछि होस आएपछि कोठा पुगियो । साथी बमिट गर्न थालिसकेको थियो । कोठामा विदेश जान बसेका केटाहरू थिए, दुई–चारजना । उनीहरूले हस्पिटल पुर्‍याए । आठ–नौ दिन आइसियुमै राख्नुपर्‍यो ।

त्यसपछि हल्ला भयो । किरात राई यायोख्खा, किरात राई विद्यार्थी संघ, किरात राई विद्यार्थी संघका सबै साथी आए भेट्न । म यायोख्खाको काठमाडौं जिल्लासचिव थिएँ, त्यतिवेला । त्यसै क्रममा हाङ्दिमा पनि आइपुगिन् । तिनले घाउ पुछपाछ गर्ने गरिन् । त्यसले एकखालको मायाको अनुभूति गरायो ।

म त त्यतिकै हुन्छ भनेर बसेको थिएँ । तर, साथीहरूले मलाई पनि हस्पिटल लगे । म हस्पिटलमा पनि उनी आएर हेरचाह गरिन् । उनी मलाई सम्मान गर्थिन् । बिस्तारै उनीसँग दु:ख सेयर गर्न थालियो । त्यसपछि रक्सी पनि कम खान थालेँ । ड्राइभरले कुटेपछि होस पनि खुल्यो ।

उनीसँग नियमितजसो भेट हुन थाल्यो । उनी पनि आफ्नो जीवनकथा भन्थिन् । उनी नाटकमा पनि रुचि राख्थिन् । तर, एकदमै समर्पित भएर काम गर्न नसक्ने रहिछन् । कारण खोज्दै जाँदा थाहा भयो– उनी लिभिङ टुगेदर रिलेसनसिपमा रहिछिन् । केटोले तनाव दिँदोरहेछ । तर, सबै कुरा भनिनन् । मैले उनलाई डायरी लेख्न भनेँ । उनले १५/२० पेज लेखिन् । मलाई देखाइन् । उनको जीवनका धेरै कुरा जान्न पाएँ । त्यसैलाई मैले दमिनी भीरमा हाङ्दिमा चरित्र बनाएर हालेको छु । उनीसँग भावनात्मक सम्बन्ध गहिरो भए पनि बिहा गर्ने प्रश्नै थिएन । बिस्तारै टाढिँदै गयौँ । उनको बिहे भइसकेको छ । उनलाई श्रीमती बनाउँछु भन्ने कहिल्यै नसोचेपछि उनको बिहे भयो भन्ने थाहा पाउँदा नमज्जा लाग्यो । उनले मलाई ‘दमिनी भीर’ लेख्ने क्रममा ठूलो ऊर्जा दिएकी थिइन् । आज म जे छु, उनैको ऊर्जा र प्रेरणाका कारण छु ।

०००

प्रेममा हरेक मानिस पर्छ । हरेक प्रेमको आफ्नै टाइम र स्पेस हुन्छ । त्यसैअनुसार सम्बन्धको सीमा कोरिन्छ । विद्यार्थीकालको प्रेमको आफ्नै सीमा थियो । शिक्षक हुँदा विद्यार्थीसँग भएको प्रेमको पनि एउटा सीमा थियो । त्यस्तै, विवाहित भइसकेपछि भएको प्रेमको त्यहीअनुसारको सीमा थियो । पहिलो प्रेमको छुट्टै सीमा थियो ।

अहिले के लाग्छ भने जीवनमा मानिसले प्रेमचाहिँ धेरै गर्छ । तर, त्यसलाई कुन तहबाट व्याख्या गर्ने र कसरी लिने भन्ने हुन्छ । म यस सन्दर्भमा संवेदनशील छु, अलि भावुक पनि । मेरा सबै प्रेमिकाप्रति ममा ठूलो श्रद्धा र सम्मानभाव छ । मैले स्वार्थको वशमा परेर प्रेम गरिनँ, भावनाको वशमा परेर गरेँ । आफ्नो प्रेम यात्रा सम्झेर ल्याउँदा मनमा एउटा भावना उठ्छ– प्रेमले कसैको जीवन बर्बाद नगरोस्, कसैलाई अप्ठेरो नपरोस् ।

नयापत्रिकाबाट/प्रस्तुति : कला अनुरागी


  •  
  •  
  •