जनतान्त्रिक तराई मुक्ति मोर्चासंग पाँच बुँदे सहमति

78
  •  
  •  
  •  

जनकपुर, १० असोज (ओएनएस) : ससंवैधानिक राजनीतिक संवाद तथा सहमति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले जनतान्त्रिक तराई मुक्ति मोर्चा समूहसंग पांच बुंदे सहमति गरेको छ ।

संविधानसभा बाहिर रहेका राजनितिक दल तथा सशस्त्र समुहहरुसंग वार्ता गर्ने योजना अनुरुप मनोज मुक्ति(विवेक)भनिने मनोज झा समूहसंग सहमति गरेको हो । जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफूसंग रहेको सम्पुर्ण हतियार, बन्दी एवम भुमिगत कार्यकर्ता र मुद्धाहरुको विवरण एक हप्ता भित्रमा उपसमितिलाई उपलब्ध गराउने सहमति भएको छ ।

यस्तै मोर्चासंग नेपाल सरकारले गरेको सहमति पुर्ण कार्यान्वयनको सम्बन्धमा उपसमिति पहल गर्ने, मोर्चाका बन्दी रहेका कार्यकर्ताहरुको मुद्धा खारेजी तथा रिहाईकालागि सम्पुर्ण प्रक्रिया मिलाई सहयोग गर्ने, संविधानसभाबाट संविधान निर्माण प्रक्रियामा मोर्चाले साकारात्मक सहयोग पुर्याउने सहमति गरेको छ । शान्तिपुर्ण तरिकाबाट देशको विद्यमान कानुन भित्र रही अन्तरिम संविधान, २०६३ को मर्मलाई आत्मसात गर्दै मोर्चाले राजनितिक अधिकारको प्रयोग गर्न पाउने, मधेशको सशस्त्र द्वन्द व्यवस्थापनलगायतका विषयवस्तुहरु संवैधानिक राजनितिक संवाद तथा सहमति समितिमा प्रस्तुत गर्ने सहमति भएको छ ।

वार्ताको क्रममा मोर्चाका सदस्यहरुको सुरक्षाको व्यवस्था वार्ता उपसमितिले मिलाउने विषयमा समेत सहमति भएको छ । सहमति पत्रमा सरकारको तर्फबाट वार्ता उपसमिति संयोजक आनन्दप्रसाद ढुङगाना र मोर्चाको तर्फबाट संयोजक मनोज मुक्तिले हस्ताक्षर गरेका छन् ।


  •  
  •  
  •