काठमाडौं, २५ फागुन (ओएनएस) : १०६ औ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा अनेरास्ववियुले १२ जना महिला सवारी चालकलाई सम्मान गरेको छ । लैङ्गिक समानताका लागि पाइला हाराहारी सन् २०३० सम्ममा हिस्सा बराबरी भन्ने नाराका साथ मनाइएको दिवसका अवसरमा जना महिला सवारी चालकलाई श्रमिक महिला सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा मुना घिमिरे श्रेष्ठ (डोजर चालक), विष्णु लामा, दिलकुमारी प्रधान (बस चालक), बिमला थापा, रुपा राना र रेबिका थापा रहेका छन् । त्यस्तै सरस्वती बस्नेत, लक्ष्मी महर्जन, मिना परियार, सुमित्रा डंगोल, निता चौधरी र धनमाया सुनुवारलाई पनि श्रमिक महिला सम्मान गरिएको प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।
पूर्व सभामुख तथा स्थायी कमिटि सदस्य सुभाष नेम्बाङको प्रमुख आतिथ्यतामा राजधानीमा भएको कार्यक्रममा श्रमिकका ६ जना छोरीलाई छात्रवृत्ति समेत प्रदान गरिएको उनले बताए ।
‘अनेरास्ववियुको नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रम स्वरुप हामीले श्रमिकका छोरीहरु डेनि एक्छे मगर (रामेछाप), मुनिया कुसबादिया (कपिलवस्तु), कामना कुसबादिया (नबलपरासी), जानकि कुसबादिया (बारा), अन्जनी कुसबादिया र क्रिस्टल कुस्लेलाई छात्रवृत्तिको व्यबस्था गरेका छौं ।’ लामिछानेले भने, ‘छात्रवृत्ति प्राप्त गर्ने वहिनीहरुलाई आनन्द भुमी स्कुल, नोबेल एकेडमी, पुष्प सदन, केएमसी, भिएस निकेतन र जेभियर इन्टरनेशनल स्कुलमा निशुल्क अध्ययनको व्यबस्था मिलाइएको छ ।’
कार्यक्रममा एसिड आक्रमणबाट घाइते भएर पनि सामाजिक आन्दोलनमा सक्रिय भएका दुई छात्रा सिमा बस्नेत र सङ्गिता मगरलाई पनि सम्मान गरिएको अनेरास्वसवयुले जनाएको छ ।