८३ किलो चरेशसहित १२ जना पक्राउ

320
  •  
  •  
  •  

धनगढी, ३१ भदौ (ओएनएस) : बझाङ प्रहरीले छुट्टाछुटै स्थानबाट ८३ किलोग्राम चरेशसहित १२ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न ३ स्थानबाट बुधबार साढे ८३ किलोग्राम चरेशसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार मटेला गाविस–८ भाडेबगरबाट ७५ किलोग्राम चरेशसहित बुधबार बिहान २ बजे ९ जना पक्राउ परेका हुन् । त्यस्तै, लेकगाउँका २ छुट्टाछुट्टै स्थानबाट साँढे ८ किलोग्राम चरेशसहित ३ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय र मटेला प्रहरी चौकीको संयुक्त टोलीले विशेष सुराकीको आधारमा ७५ किलोग्राम चरेशसहित भाडेबगरबाट ९ जनालाई पक्राउ गरेको डिएसपी अधिकारीले बताए ।

चरेशसहित पक्राउ पर्नेमा बझाङ दौलिचौर गाविस ९ का लालबहादुर बोहरा र बिनोद बोहरा, सुर्मा गाविस ८ का जयबहादुर जेठारा, ३ का लोकेन्द्र बोहरा, ७ का गजेन्द्र बोहरा, कंडेल गाविस ५ का हरि सार्की, विवेकराज उपाध्याय र रामलाल उपाध्याय तथा भामचौर २ का प्रेमबहादुर बोहरा रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट १६ हजार २ सय ३० रूपैयाँ समेत बरामद गरेको जनाएको छ ।

डिएसपी अधिकारीले संयुक्त टोलीले भाँडेबजारदेखि व्यासीतर्फ जाने ठाउबाट ७५ किलोग्राम चरेशसहित ९ जनालाई पक्राउ गरेको बताए ।
प्रहरीले चरेश ढुवानीमा प्रयोग भएको दुई वटा स्कारपियो गाडीसहित चालकहरूलाई नियन्त्रणमा लिएको छ । बा १० च ५७८८ नम्बरको गाडी र चालक फुच्चे चौधरी र से १ च १०४५ नम्बरको गाडी तथा चालक चन्द नाथलाई पक्राउ गरिएको डिएसपी अधिकारीले बताए ।

यसैगरी, प्रहरी चौकी रायलले साढे ८ किलोग्राम चरेशसहित ३ जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो २ किलोग्राम ८ सय ग्राम चरेशसहित लेकगाउँ ६ का अप्रोज धामीलाई बागथला बजारबाट पक्राउ गरिएको डिएसपी अधिकारीले बताए ।

यस्तै, बुधबार साँझ बझाङबाट धनगढी जाँदै गरेको बसबाट ५ किलो ७ सय ग्राम चरेशसहित दुई जना पक्राउ परेका छन् ।  ना ४ ख ४२२ नम्बरको बस चेकजाँचको क्रममा चरेशसहित लेकगाऊँ गाविस—७ का शिवराज चलाउने र सोही ठाउँका हर्क बुढालाई पक्राउ गरिएको डिएसपी अधिकारीले बताए ।


  •  
  •  
  •