महोत्तरी, २२ चैत(ओएनएस) : प्रवेशिका परीक्षा अन्तर्गत अनिवार्य विज्ञान विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गरेको आरोपमा महोत्तरी जिल्लामा १ सय १३ परीक्षार्थी निस्कासित गरिएको छ । निस्कासित तथा परीक्षामा अनुपस्थित हुनेमा छात्राको संख्या बढी छ ।
जिल्ला शिक्षा कार्यालय महोत्तरीले उच्च मावि रामगोपालपुर केन्द्रबाट २० मावि भोइल टिमकियाबाट १९, मावि औरहीबाट ४७ तथा उच्च मावि विजलपुराबाट २७ विद्यार्थीलाई कारबाही गरि विज्ञान विषयको परीक्षाबाट बंचित गरिएको जनाएको छ । कारबाहीमा नियमिततर्फ ३४ छात्रासहित ४६ तथा एक्जाम्जेटतर्फ ३५ छात्रासहित ६७ परीक्षार्थी परेको हो ।
महोत्तरीमा अनिवार्य विज्ञान विषयको परीक्षामा नियमिततर्फ ३ हजार ३ सय ३ छात्रासहित ७ हजार ३ सय ४५ तथा एक्जाम्टेडतर्फ २ हजार ४ सय ६६ छात्रासहित ४ हजार ६ सय २३ सहभागी भए । यसैगरी, १ सय ३३ छात्रासहित २ सय ३० नियमित तथा ६८ छात्रासहित १ सय १९ एक्जामटेडतर्फका परीक्षार्थी अनुपस्थित रहेका थिए ।
महोत्तरीबाट मात्रै चारदिनको अवधिमा अमर्यादित क्रियाकलाप गर्ने २७५ परीक्षार्थी कारबाहीमा परिसकेका छन् ।