काठमाडौँ, पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग आफ्नो भेट नभएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत विहीबार वरिष्ठ नेता नेपालले गोयलसँग भेट भएको भनी आएको खबरमा सत्यता नभएको जानकारी गराएका हुन् ।
आफू रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोकल्पित र भ्रामक समाचारहरु प्रकाशित भएकोमा उनले त्यसको खण्डन गरेका हुन् ।
वरिष्ठ नेता नेपालले यस प्रकारका समाचारहरुको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध समेत गरेका छन् ।
बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएका गोयल सोही बिमानमा विहीबार स्वदेश फर्किसकेका छन् ।
उनी आएको, गएको र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको बाहेक अन्य सबै गतिविधी अहिलेसम्म गोप्य नै रहेको छ ।