रौतहट, २४ जेठ (ओएनएस) : विभिन्न विरामीको उपचार गर्न स्वास्थ्य शिविर सञ्चालन गरिन्छ । स्वास्थ्य शिविर चलेको थाहा भएपछि टाढा–टाढाबाट विरामी आउँछन्÷ल्याइन्छ । तर शिविरमै औषधिको अभाव हुन्छ भने त्यसलाई के भन्ने ? यस्तै भएको रौतहटको गैडाटारमा हैजा तथा झाडापखालाका बिरामीलाई उपचार गर्न राखिएको शिविरमा । त्यहाँ औषधि र खानेपानीको अभाव भएको छ ।
गत वैशाख १७ गतेदेखि फैलिएको हैजा र झाडापखालाका कारण करिब एकहजार जना बिरामी परेका छन् भने एक किशोरीको ज्यान गइसकेको छ । झाडापखाला नियन्त्रणमा आउन सकेको छैन । शिविरमा पनि औषधि छैन । शुक्रबार १६ जना झाडापखालाका बिरामी उपचार गराउन आएका छन् । तीमध्ये दुई बालिकाको अवस्था गम्भीर छ । शिविरमा उपचार गराइरहेकी एक वर्षीया बालिका रोशनीमाया ठोकर र आठ वर्षीया पञ्चमाया जिम्वाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । शिविरमा एक वर्षीया बालिकादेखि ६० वर्षसम्मका झाडापखालाका बिरामी उपचार गराइरहेका छन् ।
बिरामीको चाप शिविरमा बढेको छ, औषधि नआए उपचार गर्न समस्या आएको चिकित्सकहरुले बताएका छन् । क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौँडाबाट खटिएका हेल्थअसिस्टेन्ट रोहित लामिछानेले शिविरमा औषधि अभाव भएकोबारेमा माथिल्लो निकायमा जानकारी गराएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत दुर्योधनप्रसाद चन्द्रवशीले शिविरमा तत्काल औषधि पठाइने जानकारी दिए ।
शिविरमा बिरामी र स्वास्थ्यकर्मीको टोलीलाई खानेपानीको समेत समस्या छ । शिविरमा खटिएका स्वास्थ्यकर्मी गोविन्द तिमिल्सेनाले भने, ‘खानेपानीको समस्या छ, बिरामीले सरसफाइ गर्न पानी पाएका छैनन् ।’