सुरक्षामा चुनौति थपिएपछि सात कैदीको सरुवा

1044
  •  
  •  
  •  

उदयपुर, १४ मंसिर (ओएनएस)  : सुरक्षामा चुनौति थपिएपछि जिल्ला कारागार उदयपुरका सात कैदीलाई सुनसरीको झुम्का र सप्तरीको राजबिराज कारागारमा आईतबार सरुवा गरिएको छ ।

कारागार प्रशासनले झुम्का कारागारमा त्रिनपा–११ का २५ बर्षीय ताराकान्त चौधरी, सुनसरी धरान–७ का २७ बर्षीय टिकाराम राई, ३० बर्षीय टिका भनिने सुरज गुरुङ्ग र २५ बर्षीय कृष्ण बुढालाई सरुवा गरेको जेलर मुकुन्द ढकालले बताए । चौधरी जवरजस्ति करणी मुद्दामा ०७१ बैशाख २ गतेदेखि दुई बर्ष ६ महिना ६ दिन र एक सय ५० रुपैयाँ बराबरको कैद भुक्तान गर्दै आएका छन् ।

त्यसैगरी राई कर्तव्य ज्यान मुद्दामा २०६४ जेठ २५ गतेदेखि कैद भुक्तान गर्दै आएकाछन । गुरुङ्ग जवरजस्ति करणी मुद्दामा २०६८ असोज ११ गते र बुढा नवकजनी चोरी उद्योगमा २०६९ असोज २७ गतेबाट कैद भुक्तान गर्दै आएकाछन ।

यसैगरी राजबिराज कारागारमा सुनसरी भरौला–३ का ३५ बर्षीय गोपाल भनिने हरिबहादुर राई, तनहु–९ ठुलेगौडाका २७ बर्षीय संन्जिव राई र २३ बर्षीय सलिम मियाँ रहेकाछन । हरि २०६३ फागुन १६ गतेबाट कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गर्दै आएका छन । त्यस्तै सन्जिव लागुऔषध मुद्दामा २०७१ असार १ गते र मियाँ खुनडाका तथा जवरस्ती करणी मुद्दामा २०६४ माघ २४ गतेबाट कैद भुक्तान गर्दै आएको जेलर ढकालले बताए ।

मंसिर ५ गते कारागारका नाइके खोटाङ्ग छोरम्बु–३ का २२ बर्षीय मनोज राईको समुहलाई कैदी सन्जिव राईको समुहले आक्रमण गरेपछि एकै ठाउँमा बस्न सक्ने अबश्था नरहेको भन्दै उनीहरुलाई केन्द्रीय कारागारको आदेशअनुसार सरुवा गरिएको हो ।

झडपमा नाईके मनोज, कैदी उदयपुर बेल्टार–२ का २७ बर्षीय युवराज विक, त्रिनपा–३ का २१ बर्षीय भागवत मलाहा, खाँबु–४ का २० बर्षीय तुलसी राई, त्रिनपा–१ का ३१ बर्षीय सुनिल सिन्जाली मगर, हडिया–२ का मणि भनिने मणिकुमार राई र बसाहा–१ का मित्रबहादुर बिक घाईते भएका थिए ।

मनोज २०६९ मंसिर १२ कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गर्दै आएकाछन । त्यसैगरी युवराज सरकारी छाप किर्ते गरेकोमा २०७१ बैशाख ५ गते, भागवत २०६९ पुष ११ गतेदेखि लागुऔषध, तुलसी २०६९ पुष १ गते कर्तव्य ज्यान, सुनिल २०७० साउन २५ गतेदेखि लागुऔषध, मणिकुमार २०६९ मंसिर २३ गतेदेखि जवरजस्तीकरणी उद्योग र मित्रबहादुर २०६९ कात्तिक २६ गतेदेखि ज्यान मार्ने उद्योगमा कैद भुक्तान गर्दै आएको जेलर ढकालले जानकारी दिए ।

नाइकेको समूहले सरुवा हुने कैदीबन्दीको रेर्कड स्थानीय सुरक्षा प्रमुखहरुलाई नदिएको, कैदीको शोषण गरको र सरुवा भएर जाने कैदीबाट रकम असुलेको भन्दै कैदी सन्जिवको समूहले आक्रमण गरेको थियो ।


  •  
  •  
  •