काठमाडौं, मंसिर १५ (ओएनएस) : गत मंसिर १० र ११ मा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा खटिएका सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई सरकारले ‘सार्क मेमोरियल मेडल’ दिने भएको छ । सार्कलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान दिएको भन्दै सरकारले खटिएका सबै सरकारी कर्मचारी तथा सुरक्षाकर्मीलाई मेडल दिने भएको हो ।
सार्क तयारीको लागि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षमा गठीत मूल समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गर्नुका साथै सार्क सफलतापूर्व सम्पन्न गर्न सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिएको छ । यसैबीच तयारी मूल समिति सोमबारबाट विघटन गरिएको छ भने अन्य बिषयगत समिति र उपसमितिहरुले प्रतिवदेश प्रधानमन्त्रीलाई बुझाएपछि स्वतः विघटन हुनेछन् ।