काठमाडौँ, २६ जेठ (ओएनएस) वर्तमान संधिवानसभाले जनताको संविधान नदिने भन्दै गोलमेचसम्मेलनको माग राख्दै निर्वाचन बहिष्कार गरेको नेकपा –माओवादीले सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभाको प्रस्ताव राखेको छ ।
सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार राजनीतिक दलको बैठकमा माओवादीले सभा गर्नेसम्बन्धीे प्रस्ताव गरेको हो । माओवादीलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी बनाउने विषयमा केन्द्रित रहेर बैठकमा छलफल भएको एमाओवादीका नेता डा बाबुराम भट्टराईले बताए ।
‘नेकपा–माओवादीलगायत दललाई वार्ताद्वारा संविधान निर्माणमा सहभागी बनाउन सरकारको पहलमा छलफल सुरु भएको छ, बैठकपछि भट्टराईले भने,‘बैठकमा नेकपा–माओवादीले राखेको प्रस्तावका बारेमा सबै दल सकारात्मक हुनाका साथै सबैले आआफ्नो दलमा सल्लाह गरी अगाडि बढ्ने सहमति भएको छ ।’
सरकारको व्यवस्थापन तथा प्रमुख तीन दल र माओवादीको आयोजनामा सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा हुनुपर्ने माग बैठकमा राखिएको माओवादीका उपाध्यक्ष सिपी गजुरेलले बताए । आफ्नो प्रस्तावका बारेमा प्रमुख तीन दल सकारात्मक भएको जिकिर गर्दै उहाँले सभाको सर्तका रुपमा विगतका सहमति कार्यान्वयन हुनुपर्ने, संविधानसभामा भएका ३१ दल र बाहिरका ३३ दल सम्मिलित सभाको गठन हुनुपर्ने माग राखिएको बताए ।
संविधान निर्माण प्रक्रियाभन्दा बाहिर रहेको माओवादीलाई वार्ताद्वारा सहभागी गराउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको निर्देशनबमोजिम सरकारले बैठक बोलाएको नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
Comments are closed.