संविधानसभामा संवाद समितिको प्रतिवेदनमाथि छलफल जारी

60
  •  
  •  
  •  

काठमाडौं, १ असोज (ओएनएस) संविधानसभाको बुधवार बसेको बैठकमा संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको प्रतिवेदन माथिकै छलफल जारी रहेको छ । भदौ २६ गते संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको तर्फबाट समिति सभापति डा.बाबुराम भट्टराईद्वारा प्रस्तुत प्रतिवेदन माथि बुधवार पनि विभिन्न राजनैतिक दलका सभासदहरुले आ–आफ्नो धारणा राखेका छन् । समिति सभापति डा.भट्टराईले उक्त समितिले अहिलेसम्म गरेका छलफलहरु, सहमति गरेको बुँदाहरु र सहमति हुन नसकेको बुँदाहरु सहितको संयुक्त प्रतिवेदन संविधानसभाको बैठकमा प्रस्तुत गरेका थिए ।

सो प्रतिवेदन माथिको छलफलमा पनि यस अघिका बैठकहरुमा जस्तै सत्तापक्षीय दलका सभासदहरुले माघ ८ को समय सीमालाई ननाघि सकेसम्म अधिकतम् सहमतिको प्रयास गर्ने र यदि नभए प्रजातान्त्रिक पद्धति अनुसार विधि र प्रक्रियामा गएर भए पनि निर्धारित समयमै संविधान जारी गर्नु पर्नेमा जोड दिएका छन् भने एमाओवादीका सभासदहरुले भने विधि र प्रक्रियामा मात्र जोड दिन नहुने पुरानै भनाई दोहो¥याएका छन् ।

एमालेका सभासद विष्णु पौडेले तोकिएकै समयसीमा सहमति गर्ने गरि संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिलाई पुनः समय दिनु पर्ने विचार राख्दै यति सो समयमा पनि सहमति हुन नसके विधि र प्रक्रियामा गएर भए पनि आउँदो माघ ८ मा नै संविधान निर्माण गर्ने गरी अगाडि बढ्नु पर्ने बताएका छन् ।
उनले विधि र प्रक्रियामा जानु भन्दा पहिले सहमतिका लागि अधिकतम् लचकता अपनाउनु पर्ने पनि बताए ।

छलफलमा मालेका सभासद अईन्द्र सुन्दर नेम्वाङ्गले माघ ८ को समय सिमा नाघ्न नहुने भन्दै संविधानसभा भन्दा बाहिर रहेका दल र शक्तिसँग लचकता अपनाएर सहमति गर्नु पर्ने विचार राखेका छन् । उनले सबैलाई समेटेर निर्माण गरिने संविधान मात्र राम्रो संविधान र हाम्रो संविधान हुने बताए ।
एमाओवादीका सभासद हरिबोल गजुरेलले संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिले धेरै मेहनत गरेर प्रतिवेदन ल्याएको भए तापनि उनले विगतको संविधानसभामा सहमति हुन नसकेका विषयहरु अहिले पनि जस्ताको तस्तै रहेको बताएका छन् ।

उनले विगतको संविधानसभाले गरेका सहमतिहरु यो संविधानसभाले ग्रहण गर्नु नै महत्वपूर्ण कुरा भएको भन्दै सबैको सहमतिमा नै संविधान जारी हुनु पर्ने बताए । सभासद गजुरेलले अहिलेको संविधानसभा संविधान निर्माण गर्ने अन्तिम अवशर भएको दाबी गर्दै भने –‘सहमति नगरि टुंग्याउने भए यस अघिकै संविधानसभामा नै विधि र प्रक्रिया अपनाएर टुंग्याइन्थ्यो’ ।

त्यसैगरि नेपाली कांग्रेसकी सभासद ईश्वरी न्यौपानेले अन्तिम समयसम्म पनि सहमतिको प्रयास जारी राख्नु पर्ने धारणा राख्दै तर अन्तिममा सहमति हुन नसकेको खण्डमा प्रक्रियाले भए पनि टुंग्याएर संविधान बनाउनु पर्ने बताएकी छिन् ।

उनले माघ ८ को समय सीमा प्रभावित नहुने गरि संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिलाई सहमतिका निमित्त पुनः समय दिनु पर्ने धारणा राखिन् ।
बैठकमा एमाओवादीका सभासद हरिलाल ज्ञवालीले विवादहरु अझै पनि कायमै रहेको भन्दै जनता अझै पनि संविधान आउने या नआउने भन्नेमा अन्यौलमै रहेको बताए । उनले अन्य विषयहरु प्रक्रियाबाटै टुंग्याउन सकिने भए तापनि राष्ट्रका मूलभूत विषयमा भने सहमति हुनु आवश्यक रहेको बताउँदै सबैलाई अहिले नै समेटेर संविधान निर्माण गर्न नसके मुलुक पुनः द्वन्द्वमा जाने खतरा रहेको बताएका छन् ।

छलफलमा राप्रपा नेपालीकी सभासद कुन्ती कुमारी शाहीले आउँदो माघ ८ गते नै संविधान जारी गर्न सकिन्छ भनेर सबै राजनैतिक दलले बताएकाले नै संविधान निर्माण गर्ने अन्तिम मिति माघ ८ गतेलाई तोकिएको स्मरण गराउँदै समय सीमा भित्र नै संविधान जारी गर्नु पर्ने बताएकी छिन् । सहमतिका लागि पहिले संविधानसभामा रहेका दलहरुबीच सहमति कायम गरि साझा धारणा बनाउनु पर्ने भन्दै उनले सहमति हुन नसकेका विषयहरुलाई जनमत संग्रहबाट टुंग्याउनु पर्ने बताइन् ।

यस अघि संविधानसभाको पहिलो बैठकमा भने २०६४ सालको संविधानसभाको निर्वाचनमा नुवाकोट जिल्लाको क्षेत्र नं.३ बाट निर्वाचित पूर्व सभासद एवं एमाओवादीका उपाध्यक्ष पोेष्ट बहादुर बोगटीको ६२ वर्षको उमेरमा हृदयघात तथा मस्तिष्कघातबाट यही भाद्र ३० गते काठमाडौंमा निधन भएकाले बैठकले असामयिक निधन प्रति गहिरो शोक प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदन प्रकट गरेको । सभाध्यक्ष सुभाषचन्द्र नेम्वङ्गले प्रस्तुत गरेका उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतीले पारित गरे पछि बैठक आजै १५ मिनेट पछि बस्ने गरि स्थगित भएको थियो ।


  •  
  •  
  •