
काठमाडौं, १३ जेठ (ओएनएस): सरकारले संचालन गर्ने भनेको विशेष आर्थिक क्षेत्र (सेज)बारे अध्ययन गर्न सोमबार तीन दिने भ्रमणमा नेपाली टोली भारत गएको छ । उद्योग सचिव कृष्ण ज्ञवालीको नेतृत्वमा ६ सदस्यिय टोली सेजको बारेमा विकसित नयाँ संरचनाको बारेमा अध्ययन गर्न भारत गएको विशेष आर्थिक क्षेत्र समितीले जनाएको छ ।
उक्त टोलीले भारतमा सेज स्थापना र त्यसले आर्थिक विकासमा खेलेको भूमिकाको बारेमा अध्ययन गर्ने बताईएको छ । टोलिले नयाँ दिल्लीस्थित नोयडा सेजको अबलोकन भ्रमण गर्नेछ । उक्त टोलीले भारतमा विशेष आर्थिक क्षेत्रको विकास, संचालन तथा व्यवस्थापन बारे प्राप्त गरेको अनुभव, ज्ञान, सिपको बारेमा जानकारी लिनेछ ।
टोलीले भारतका बाणिज्य सचिव राजिब खैरलगायतका भारतीय अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने जानकारी समितिले दिएको छ । उक्त टोलीमा उद्योग मन्त्रालयका सहसचिव हितबहादुर थापा, समितीका कार्यकारी निर्देशक शंकरमान सिंहलगायतका सदस्य रहेका छन् ।
हाल सरकारले भैरहवामा सेज स्थापना गरिसकेको भएपनि संचालन हुन सकेको छैन् । सरकारले देशभरी पाँच विकास क्षेत्रमा कम्तिमा एक/एकवटासहित आठ स्थानमा सेज स्थापना गर्ने लक्ष्य राखेको छ ।