विओकेमा तीन वित्तीय संस्था गाभिंदै

1020
  •  
  •  
  •  

काठमाडौं, २९ जेठ (ओएनएस): बैंक अफ काठमाण्डू (विओके) तथा तीन वित्तीय संस्थाहरु इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी र नेपाल एक्सप्रेस फाइनान्स बीच गाभ्ने तथा गाभिने (मर्जर) सम्बन्धी सहमति भएको छ । सहमतिपत्रमा बैंक अफ काठमाण्डूका अध्यक्ष सत्य नारायण मानन्धर, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनीका अध्यक्ष अञ्जय बहादुर शाह, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सका अध्यक्ष रविन्द्र राज पाण्डे र नेपाल एक्सप्रेस फाइनान्सका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भए पछि यस मर्जरका प्रक्रियाहरु अगाडी बढाइने बताईएको छ ।

सहमति पत्र अनुसार मर्जर प्रक्रिया सम्पन्न भएमा बैंक अफ काठमाण्डूमा “ग” वर्गका तीन वित्तीय संस्थाहरु इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र नेपाल एक्सप्रेस फाइनान्स गाभिई बैंक अफ काठमाण्डूको नामबाट संचालन हुने उल्लेख गरिएको छ । विओके “क” वर्गको वाणिज्य बैंक हो ।

आर्थिक वर्ष २०६९/७० को वित्तीय विवरण अनुसार बैंक अफ काठमाण्डूको चुक्ता पूँजी १ अर्ब ९२ करोड रुपैंया रहेको छ भने इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र नेपाल एक्सप्रेस फाइनान्सका चुक्ता पूँजीहरु क्रमशः २ अर्ब ८८ लाख, १७ करोड ६० लाख र १९ करोड ७० लाख रुपैंया रहेका छन् । त्यस्तै, बैंक अफ काठमाण्डूको कुल निक्षेप र खूद कर्जा क्रमशः २७ अर्ब ७० करोड र २२ अर्ब ५६ करोड रुपैंया रहेका थिए भने इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्सको कुल निक्षेप र खूद कर्जा क्रमशः १ अर्ब ४२ करोड र २ अर्ब ४९ करोड, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सका कुल निक्षेप र खूद कर्जा क्रमशः १ अर्ब ५१ करोड र १ अर्ब २३ करोड तथा नेपाल एक्सप्रेस फाइनान्सको ७८ करोड र रु ६८ करोड रुपैंया रहेका थिए ।

बैंक अफ काठमाण्डूको हाल ५० शाखा, ९ एक्सटेन्सन काउन्टर, ५७ एटिएम तथा २४ शाखारहित बैंकिङ्ग सेवा केन्द्रहरु संचालनमा रहेका बैंकले जनाएको छ । मर्जर पश्चात संस्थाको आकार र उत्पादकत्वमा सुधार आई बदलिंदो तथा प्रतिस्पर्धापूर्ण बजारमा व्यवसाय विस्तार तथा मुनाफा अभिवृद्धि गर्न सहज हुने लक्ष्य बैंकले लिएको छ ।


  •  
  •  
  •