वर्षासँगै किसानहरुको लहबरी सुरु

1013
  •  
  •  
  •  

टोपलाल अर्याल

गुल्मी, २१ जेठ – लामोखडेरी पछि भएको भारी बर्षा सँगै किसानहरुको लहबरी सुरु भएको छ । अहिले पहाडी जिल्लाका किसानहरु मकै खन्ने र बेमौसमी तरकारी खेती सुरु गर्ने तरखरमा छन् । अबको भदौ सम्ममा थुप्रै बेमौसमी तरकारी उत्पादन गर्न सकिने जिल्ला कृषि विकास कार्यालय गुल्मीले जनाएको छ । पानी परेसँगै किसानहरु खेतबारीमा पसेको बताउँदै बागबानी विकास अधिकृत फटकबहादुर थापाले अव बेमौसमी काउली, बन्दा, टमाटर, सिमी, भाण्टा लगायतका तरकारी खेतीको सिजन सुरु भएको जानकारी दिए ।

‘भर्खरै पानी बन्द भएपछि यहाँका किसानहरु बारी पस्नुभएको छ’ उनले भने ‘भदौ सम्म बेमौसमी तरकारी खेती गर्न सकिन्छ ।’ जिल्ला कृषि विकास कार्यालयबाट युवा लक्षित ब्यवसायीक तरकारी उत्पादन कार्यक्रममा छनौट भएका किसानहरुपनि भर्खरै बारी पसेका छन् । कार्यालयले प्रदान गरेको अभिमुखिकरण तालीम सम्पन्न गरेर उनीहरु खेतीपाती गर्ने घर फर्केका हुन् ।

१ सय ९२ जना किसानहरुबाट उक्त कार्यक्रमका लागि छनौट भएका १ सय ४० जना किसानहरु शुक्रबार मात्रै खेतबारीमा फर्किसकेको कार्यालयले जनाएको छ । पहिलो चरणमा ४० जना किसान छनौट भएका थिए भने पछिल्लो चरणमा १ सय जना किसान छनौट भएका छन् । सरकारले युवा किसानहरुलाई लक्षित गरेर अनुदान उपलब्ध गराउने भएपछि जिल्लामा तरकारी खेतीमा लाग्ने किसानहरुको संख्या ठूलो हुँदै गएको छ ।

कृषिजन्य सामग्री खरिदका लागि जिल्ला कृषि विकास कार्यालयले २० हजार रुपैँया उपलब्ध गराउने छ भने युवा किसानको तरकारी खेती क्षेत्रको अनुगमन गरेपछि कार्यालयले फेरी २० हजार रुपैँया उपलब्ध गराउने छ । युवा किसानलाई ४० हजार रुपैँया सहयोग गर्ने गरि जिल्लामा पहिलो पटक यो कार्यक्रम भित्रिएको हो ।

अहिलेको बमौसमी सिजन सुरु भएसँगै तरकारी खेतीपनि सुरु भएको छ । दोस्रो चरणका मध्य ५० जनलाई पहिलो किस्ताको रकम बितरण गरिएकोजिल्ला कृषि विकास कार्यालयका प्रमुख चेतनाथ अधिकारीले जानकारी दिए । जिल्लामा पहिलो पटक भित्रिएको यो कार्यक्रम प्रभावकारी भएको उनको भनाई छ । अहिलेको समयमा कांका्र, फर्सि, गोलभेँडा लगायतका तरकारी टिप्न सकिन्छ भने बेमौसमी तरकारीका लागि ब्याड निर्माण गर्न सकिन्छ । साथै उनले असार लाग्ने बित्तिकै, सुन्तला, कागती, आँप लिँची, केरा, कटहरको बगैँचा बनाउने काम सुरु हुने पनि जानकारी अधिकारीले दिए ।


  •  
  •  
  •