काठमाडौं, २८ जेठ (ओएनएस): अर्थमन्त्री डा. रामशरण महतले सरकार लगानी बढाउने वातावरण बनाउन प्रतिबद्ध भएको बताएका छन् । अर्थमन्त्री डा. महतले उद्योगी व्यवसायीले लक्ष्य लिएर लगानी गरे सरकार हरेक सुविधा दिन तयार रहेको बताए । उनले भने, ‘निजी क्षेत्रले लक्ष्य र समय तोकेर काम गर्नुस, सरकार विभिन्न सुविधा र सहुलियत दिन तयार छ ।’
अर्थमन्त्रीले औद्योगिक क्षमतामा ह्रास आएको हुँदा प्रतिस्पर्धात्मक क्षमतामा पनि कमी आएको बताए । नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारण सभाको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले अहिले औद्योगिक क्षेत्रबाहेकका क्षेत्रमा पनि लगानीको अवसर रहेको स्पष्ट पारे । उनले भने, ‘कृषि, जलविद्युत, सेवालगायतका क्षेत्रमा निकै अवसर भएको हुँदा ती क्षेत्रमा पनि व्यवसायीहरुले लगानी गर्नुपर्छ ।’
अर्थमन्त्रीले उद्योगी व्यवसायीले लगानी गर्न नसकेको भन्दै अवसरलाई हेरेर लगानी गर्न आग्रह गरे । ‘तपाईहरु उद्योगी हो भने अवसरलाई हेर्नुस र लगानी गर्नुस् ,’ अर्थमन्त्रीले भने । उनले विदेशीले त नेपालमा अवसर हेरेर प्रसस्त लगानी गरेको उदाहरण दिँदै अहिले सुरक्षा, राजनीतिक स्थिरता भएका कारण पनि लगानीको अवसर भएको बताए ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले लुम्बिनीमा एयरपोर्ट बनाउन निजी क्षेत्र तयार भएको, मध्य पश्चिममा लगानी गर्दा कर छुट दिनुपर्ने, निर्यात छुट बढाएर १० प्रतिशत पुर्याउनुपर्ने, मोरङमा औद्योगिक क्षेत्र स्थापना हुनुपर्ने, विद्युत खरिद सम्झौता गर्न अलग्गै कम्पनि स्थापना गरिनुपर्ने लगायतका बुँदाहरु बजेटमा समेटिनुपर्ने माग राखेका थिए ।