राराकिनारमा जलवायु सम्मेलन सुरु : भित्र बहस, बाहिर नाराबाजी

808
  •  
  •  
  •  

रारा राष्ट्रिय निकुञ्जभित्र २,९९० मिटर उचाइमा अवस्थित राराताल। तालकिनारमै तयार पारिएको सम्मेलनकक्षको मञ्च। योजनाविद, जलवायुविज्ञ, सरकारी उच्च अधिकारी र राजनीतिक तथा गैरराजनीतिक क्षेत्रका सरोकारवालाले राराको माटो हातमा लिएर बिहीबार दुईदिने जलवायु सम्मेलनसम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गरे।

‘जलवायु परिवर्तन र त्यसले निम्त्याएका समस्या र चुनौती’ विषयमा भित्र चर्काचर्की बहस सुरु भयो। त्यहीबेला बाहिर अचानक होहल्ला सुनियो।
उनीहरू थिए, जलवायु परिवर्तनबाट सिर्जित पछिल्लो प्रकोपको असरले अनाहक मारमा परेका कृषक। एउटा ब्यानर र हात–हातमा फोस्रा बालासहितको धानको नल बोकेर आएका झन्डै डेढ सय किसानको हुलमा चर्का नारा लाग्न थाल्यो।

subodh gautam photo 2

राराकिनारमा बिहीबार सुरु जलवायु सम्मेलन स्थलबाहिर नाराबाजी गर्दै मुगुका असिनापीडित किसान। तस्बिर : सुबोध गौतम
कात्तिक ८ गते अचानक परेको असिनापानीले जिल्लाका १२ गाविसमा अन्नबाली सखाप पारेपछि त्यसको क्षतिपूर्ति माग्न झन्डै दुई दिनको बाटो हिँडेर उनीहरू सम्मेलनस्थल आइपुगेका थिए।
बाहिरको चर्काचर्कीबीच सम्मेलन कक्षका डेढ सयजति सहभागी भने जलवायु परिवर्तनका असर र त्यसबाट जोगिने उपायबारे छलफल गर्दै थिए। मञ्चमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षदेखि वातावरण सचिव, ७ जना स्थानीय सभासद, वातावरणविदलगायत थिए।
केहीले मन्तव्य दिइसकेका थिए, केही पालो कुरिरहेका थिए।
त्यत्तिकैमा असिनापानीले क्षति पुर्याथएको बालीको रित्ता बोट हातमा लिएका महिला, बालबालिका र केही पुरुष नारा लगाउँदै सम्मेलन कक्षभित्र पस्न खोजे। सम्मेलनमा रहेका प्रहरी र सेनाका स्थानीय प्रमुखले बाहिर निस्किएर रोक्ने प्रयास गरे।
उनीहरूले टेरेनन्।
‘क्षतिपूर्ति देऊ, नत्र विष देऊ’ भन्दै एकोहोरो नाराबाजी चलिरह्यो। उनीहरूले केन्द्रबाट आएका पदाधिकारीले नै क्षतिपूर्तिको आश्वासन दिनुपर्ने अडान लिए। यही दबाबका कारण स्थानीय जनप्रतिनिधिले सम्मेलनका अध्यक्ष र प्रमुख अतिथिलाई बाहिर निस्किएर कृषकलाई सम्बोधन गर्न आग्रह गर्नुपर्योा।
त्यही बेला प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी भित्र बोल्दै थिए, ‘ल हेर्नुस्, यस्ता घटना धेरै बढ्दैछन्। असिना पर्ने, पानी पर्ने र क्षति हुने क्रम माथिल्लो भेगमा निकै बढिरहेको छ। सायद यो पनि जलवायु परिवर्तनले गर्दा नै भएको हुनुपर्छ।’ उनले यस्ता मुद्दा सम्बोधन गर्न यो सम्मेलन आयोजना भएकोमा खुसी पनि व्यक्त गरे।
कृषकको दबाब थेग्न नसकेपछि योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल बाहिर निस्कन बाध्य भए। उनीसँगै मुगुका सभासद मोहन बानियाँ, प्रजिअ रेग्मी र स्थानीय राजनीतिक दलका नेता पनि बाहिरिए।
कृषक महिला क्षतिबारे बेलिबिस्तार लगाउँदै आँसु झारिरहेका थिए। ‘पुरुषहरू विदेश छन्, घरमा केटाकेटी मात्र छन्। स्याहार्ने बेलाको अन्नबाली सबै असिनाले लग्यो। साँझबिहानको खान्की पनि छैन,’ श्रीकोट–२ की ६० वर्षीया रुपकला शाहीले पोखरेलसँग दुखेसो पोखिन्। कृषकले उपाध्यक्षसामु १५ करोड रुपैयाँ क्षतिपूर्ति माग्दै पाँचबुँदे मागसहितको ज्ञापनपत्र बुझाए।
उपाध्यक्ष पोखरेलले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषबाट रकम उपलब्ध गराउने आश्वासन दिँदै त्यसका लागि स्थानीय प्रशासनले पहल गर्नुपर्ने बताए। स्थानीय प्रशासनले भने क्षतिपूर्ति यकिन गर्न कृषि कार्यालयलाई सम्बन्धित क्षेत्रमा खटाइसकेको जनाएको छ।
‘हामीलाई तत्काल बिहान–बेलुकीको खाना चाहिएको छ। पहिले खान पाउनुपर्यो्, त्यसपछि नेताहरूसहितको अध्ययन टोली तत्काल स्थलगत अध्ययनमा आउनुपर्छ। आश्वासन दिएर यहीँबाट काठमाडौं फर्कन पाइँदैन,’ श्रीकोट–२ रोलगाउँकी जगता शाहीले सभासद मोहन बानियाँसँग माग राखिन्।
आश्वासन मात्र होइन, तत्काल राहतको व्यवस्था हुनुपर्ने माग राखेर साँझसम्म उनीहरूले सम्मेलन कक्ष्रअगाडि धर्ना दिइरहे।
धर्नामा आधा त महिला नै थिए जसका श्रीमान कमाउन बिदेसिएका छन्। केही बालबालिका पनि साथमा थिए। कात्तिक ८ गते दिउँसो एक घन्टा लगातार परेको असिनापानीले सेरी, श्रीकोट, गम्था, कोटडाँडा, श्रीनगर, कार्कीबाडा पिना, रोबा, रुगा, रारा, कालै र धैनकोट गाविसका कृषिबालीमा क्षति पुर्या एको थियो। श्रीकोट, सेरी, कोटडाँडा र गम्थामा त पूरै अन्नबाली सखाप पारेको थियो जुन गाविस धान उत्पादनमा जिल्लाकै उत्तम मानिन्छन्। असिनापानीले धान मात्र होइन, कोदो, भटमास, मकै, सिमीलगायत बाली पूर्ण रुपले क्षति गरेको छ।

‘खाँदै नखाएको विष लाग्यो’
जैविक विविधता र सुन्दरताका दृष्टिले विश्वकै उत्तम गन्तव्य मानिने राराकिनारमा भइरहेको जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख वक्ता योजना आयोगका पूर्वउपाध्यक्ष तथा विकासविद पिताम्बर शर्माले नेपालमा जलवायु परिवर्तनको असरलाई ‘खाँदै नखाएको विष’ को संज्ञा दिए।
‘खाएको विष मात्र लाग्छ, नखाएको लाग्दैन भन्ने नेपाली उखान छ, तर जलवायु परिवर्तनमा यो मिल्दैन। यो हामीले खाएको विष होइन, तर यसको असर सबै नेपालीले बेहोर्नुपरेको छ,’ उनले भने।
विकसित राष्ट्रले तीव्रतर आर्थिक उन्नतिलाई प्राथमिकता दिँदा जलवायु परिवर्तनको समस्या आएको उनले बताए। ‘जलवायु परिवर्तन नियमित प्रक्रिया पनि हो। तर मानवीय गतिविधिले यसको असर र प्रभाव बढेको हो,’ शर्माले भने।
कर्णाली एकीकृत ग्रामीण विकास अनुसन्धान केन्द्र (किर्डाक) नेपालका कार्यकारी निर्देशक मीनबहादुर शाहीले भने, ‘ठूलो असर हिमालमै पर्ने तर राज्यले पनि त्यसैलाई नहेर्ने। अब यो सम्मेलनले हिमालका जनताले भोगेका समस्या राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्छ।’
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पोखरेलले जथाभाबी विकास निर्माणले दैवीप्रकोप बढेको उल्लेख गर्दै भने, ‘यसलाई न्यूनीकरण गर्न सकिएन भने निकट भविष्यमै गरिबी अझ बढ्न सक्छ।’ छरिएका बस्ती व्यवस्थित गरी त्यहीअनुसार बाटो खन्ने प्रक्रिया सुरु गर्नुपर्ने उनले जनाए।
पोखरेलले कर्णालीमा जलवायु परिवर्तन र अनुकूलनसम्बन्धी अनुसन्धान केन्द्र खोल्ने प्रस्ताव पनि अघि सारे। उनले यस क्षेत्रको विकासका लागि स–साना विद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको स्थानीय प्रसारण लाइन विस्तार गर्दा उपयुक्त हुने तर्क गरे।
वातावरण सचिव कृष्णचन्द्र पौडेलले अनुसन्धान केन्द्र स्थापनामा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सम्मेलनमा देशभरबाट करिब १ सय ५० जना सहभागी छन्। रारा तालकै किनारमा गाडिएका दुई दर्जनभन्दा बढी टेन्टमा सुतेर उनीहरू जलवायु परिवर्तनबारे छलफल गर्दैछन्। जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका असर, न्यूनीकरण, अनुकूलनलगायत विषयमा दुई दिनमा १६ वटा कार्यपत्र प्रस्तुत गरिने सम्मेलनले ‘रारा घोषणापत्र’ जारी गर्नेछ। नागरिकबाट

  •  
  •  
  •