राजनितिक पहुँचका आधारमा सेवा प्रदायक छनौट नगर्न आग्रह

691
  •  
  •  
  •  

 

दाङ, २ असोज (ओएनएस) : दाङका सामाजिक परिचालकहरुले स्थानिय शासन तथा सामुदायिक कार्यक्रमका लागी स्थानिय सेवा प्रदायक संस्था छनौट गर्दा राजनितिक पहुँचका आधारमा नगर्न आग्रह गरेका छन ।

जिल्लाका दुइ नगरपालिका सहित ३९ गाविसका सामाजिक परिचालकहरुको आज घोराहीमा बसेको संयुक्त बैठकले सामाजिकपरिचालन कार्यक्रम सञ्चालनका लागी सेवा प्रदायक संस्था राजनितिक पहुँचका आधारमा नभइ योग्यता,क्षमता र पारदर्शीताका आधारमा गर्न जिविस र नगरपालिकालाई आग्रह गरेको हो ।

सामाजिक परिचालक हकहित संरक्षण समितिका अध्यक्ष बिमल योगीको अध्यक्षतामा बसेको बैठकले बिगतमा केही सेवा प्रदायक संस्थाहरुले एलजिसिडिपी कार्यक्रमको निति बिपरित सामाजिक परिचालक,नागरिक सचेतना केन्द्र र वडा नागरिक मञ्चको सेवासुविधामा कमिसन खाएको,फिल्ड अनुगमनमा नगरेको,स्थानिय निकायसंग प्रभावकारी समन्वय गर्न नसेकेको अवस्था रहदा रहदै पनि फेरी तिनै संस्थामा छनौटमा पर्ने संभावना बढेको भन्दै  बिषेश ध्यान दिन सम्वन्धित निकायलाई आग्रह गरेको छ ।

बैठकले हाल कार्यरत सामाजिक परिचालकहरु बिस्थापित नहुने गरी सामाजिक परिचालन निर्देशिका २०७१ जारी भएकाले त्यसै अनुसार कार्यान्वयन गर्न पनि आग्रह गरेको छ । बिगतमा समयमा सामाजिक परिचालकहरुले समयमा निर्देशिका नपाउदा सेवा प्रदायक संस्थाले ठगेको भन्दै सवै सामाजिक परिचालकको हात हातमा नयाँ निर्देशिका प्र¥याउने निर्णय गरेको छ ।

बैठकमा जिल्ला बिकास समितिका जिल्ला शासन बिज्ञ सिदार्थ बिकले बिगतका बर्ष जस्तो नकारात्मक गतिविधी हुन नदिने भन्दै निर्धक्क भएर काम गर्न सामाजिक परिचालकहरुलाइ आग्रह गरेका थिए । सामाजिक परिचालनका काम गर्दा केही कमिकमजोरी भएमा सच्याएर जाने पनि बैठकले निर्णय गरेको समितिका सचिव कमला चन्दले जानकारी दिए ।


  •  
  •  
  •