मोदी उदयले जन्माएका प्रश्न

1149
  •  
  •  
  •  

सञ्जीव पोखरेल

भारतको चुनावमा नरेन्द्र मोदीको विजयका विषयमा विभिन्न कोणबाट फरक-फरक प्रतिक्रिया आएका छन् । कसैले यसलाई स्वभाविक र सकारात्मक भन्दै यसलाई उनको विकास र सुशासनप्रतिको प्रतिवद्धताको परिणाम भनेका छन् भने । अन्यले प्रधानमन्त्रीका रूपमा मोदीको नेतृत्त्वले भारतीय राजनीति र समाजमा धार्मिक अतिवादलाई बढावा दिने आकलन गरेका छन् । मोदीका विरोधीहरूले उनको विजयलाई अल्पसङ्ख्यक र सीमान्तीकृत समूहहरूको ‘पराजय’का रूपमा पनि चित्रित गरेका छन् ।
मोदी र उनले प्रतिनिधित्व गरेको भारतीय जनता पार्टीको ऐतिहासिक विजयले भारतीय राजनीतिमा अनेक अर्थ राख्लान् । विभिन्न जानकार र विश्लेषकहरूले यसको व्याख्या गरेका छन् । यो लेखको उद्देश्य यी अर्थहरू केलाउने होइन । मोदीको विजयले प्रतिविम्बित गरेको राष्ट्र-राज्यको बदलिँदो चरित्रका विषयमा केही चर्चा गर्नेछु ।
१. सूचना र सञ्चारको प्रभाव तथा बाहिरी विश्वसँगको बढ्दो अन्तर्क्रियाका कारण आम मानिसका आत्ममूल्यांकन तथा अपेक्षामा आमूल परिवर्तन आएका छन् । परिणामस्वरूप, राष्ट्र-राज्यको वैधानिकताका पूराना आधारहरू (जस्तै, लोकतन्त्र, मानवअधिकार, समतामूलक समाज, राष्ट्रिय पहिचान, ऐतिहासिक विशिष्टता, आदि) धरापमा पर्नथालेका छन् । पश्चिमाकरण तथा आधुनिकतावादको प्रभावस्वरूप सर्वसाधारण नागरिक र विशेषगरि मध्यमवर्गका मानिसहरूमा “विकसित मुलुकको श्रेणीमा उभिन पाए अन्य कुरा गौण हुन्” भन्ने भावना विकसित हुँदै गएको देखिन्छ । मोदीको विजयले विकसित र धनी मुलुकका रूपमा भारतलाई चिनाउने रहरबाट सिर्जित विकासे राष्ट्रवादले राज्यको उद्देश्य र परिभाषा परिवर्तन गर्नथालेको आभाष हुन्छ ।
२. चुनाव प्रचारका क्रममा मोदी आफैंले प्रत्यक्षरूपमा धार्मिक राष्ट्रवादको चर्चा गरेनन् । त्यसैगरि, कतिपय मुस्लिम नेता/अभियन्ताले पनि मोदीका पक्षमा चुनावी अभियान चलाएका थिए । यसो भए तापनि मोदीको उम्मेदवारी र विजयको प्रमुख आधार हिन्दू राष्ट्रवाद हो । मोदीका पक्षमा हिन्दू धार्मिक समूह तथा संगठनले चलाएको चुनावी अभियान, उनका चुनावी नारा र गुजरात सरकारको विगत एक दशकको चरित्र हेर्ने हो भने यो निर्वाचनमा धार्मिक कुण्ठाको भूमिका महत्त्वपूर्ण रहेको बुझ्न सकिन्छ । तसर्थ, एक्काइसौं शताब्दिको दक्षिण एसिया धार्मिक र सांस्कृतिकरूपमा उदार हुँदै जानुको साटो झन् बढी अनुदार र संकुचित हुँदै गएको भारतको अहिलेको चुनावी परिणामले देखाएको छ । निर्वाचन अभियानले प्रश्रय दिएको धार्मिक भावनालाई आधार मान्ने हो भने धार्मिक तथा सांस्कृतिक विविधताको रक्षाका लागि संघर्षरत भारतका भोलिका दिनहरू झनै चुनौतिपूर्ण हुनसक्छन् ।
३. भारतको यो पटकको निर्वाचनबाट सञ्चारमाध्यमले सही सूचनाका साथ जनतालाई सशक्तीकरण गर्छन् भन्ने पूरानो मान्यता पुनर्विचार गर्नुपर्ने देखायो । भारतका स्थापित सञ्चारमाध्यमले मोदीका पक्षमा खूला चुनावी अभियान मात्र चलाएनन् उनका उपलब्धिका बारेमा कतिपय तथ्यगत त्रुटीलाई छोप्न पनि सक्रिय भूमिका खेले । गुजरातलाई समृद्धिको सफल मोडेलका रूपमा प्रचार गर्न तथा पश्चिमा मुलुकको मोदीप्रतिको शंकालाई हस्तक्षेपका रूपमा चित्रित गर्न भारतका सञ्चारमाध्यमले कुनै कसर बाँकी राखेनन् -जसबाट भारतभरि साँघुरो विकासे राष्ट्रवादको प्रवाह भयो जसको फाइदा मोदीले उठाए । भारतको अहिलेको निर्वाचनबाट राजनीति र व्यापारको प्रभावमा सञ्चारमाध्यम आम मानिसको सशक्तीकरणको दायित्वबाट कसरि विमुख हुन्छन् भन्ने प्रस्ट देखियो । तसर्थ, आजको सन्दर्भमा सञ्चारमाध्यम धेरैले चर्चा गर्नेजस्तो ‘चौथो अङ्ग’ नभइ -नाफामूलक उद्देश्यबाट सञ्चालित एकप्रकारको व्यापारमा सीमित भएको भारतको निर्वाचनले देखाएको छ ।
४. मोदीले हासिल गरेको लोकप्रियता र भर्खरैको चुनावी नतिजाले भारतमा राजनीतिक दलको घट्दो प्रभाव देखाउँछन् । यसपटकको चुनावमा भाजपा लगायत भारतका सबै राजनीतिक दल हारे र नरेन्द्र मोदी विजयी बने । राजनीतिमा व्यक्तिविशेषको लोकप्रियता अस्वाभाविक होइन -विगतमा पनि गान्धी परिवारका सदस्यको व्यक्तित्व नै कांग्रेस पार्टीको आधार बनेको हो । तर, यसपटकको निर्वाचनमा काम गर्न सके, भ्रष्टाचारीलाई तह लगाउन सके र विकास गर्न सके -राजनीतिक दल चाहिन्नन् भन्ने भावनालाई सुदृढ गराएको छ । यो भावना सही, गलत व्याख्याको विषय हुनसक्छ । तर, यसले माथि भनिए झैं राजनीतिक दलको उद्देश्य र औचित्यमाथि नयाँ प्रश्न जन्माएको छ । बहुदलीय व्यवस्थामा आधारित लोकतान्त्रिक प्रणाली भएका दक्षिण एसियाका मुलुकको राजनीतिमा यस प्रकारको भावनाले गहिरो प्रभाव पार्नसक्छ ।
मोदीको नेतृत्व भविष्यमा कसरि विकसित हुनेछ र यसले भारतलाई कसरि प्रभाव पार्नेछ भन्ने बुझ्न केही समय पर्खिनै पर्छ । तर, यसपटकको भारतको निर्वाचनबाट यस क्षेत्रको राजनीतिमा विधिभन्दा व्यक्ति हावी हुँदै जाने, सञ्चारमाध्यम शक्ति र पैसाबाट परिचालित हुने र सतही राष्ट्रवाद भविष्यमा झनै चर्कोरूपमा विकसित हुँदैजाने लक्षण देखिएको छ । मोदीको विकासे राष्ट्रवादबाट अल्पसङ्ख्यक तथा सीमान्तीकृत समूहहरू मारमा पर्ने सम्भावना त छँदैछ आर्थिक वृद्धिदर बढाउने र विकसित मुलुकको हारमा उभिने महत्वाकांक्षाले यस क्षेत्रको सामाजिक तथा वातावरणीय सन्तुलनमा समेत गहिरो असर पर्नसक्छ ।
मोदीको भविष्यको नेतृत्व उनको विगतको सोच र शैलीभन्दा पृथक होस् । राज्य-सरकारका नीतिका कारण गरिब, अल्पसङ्ख्यक तथा सीमान्तीकृत समूह अधिकार र अवसरबाट वञ्चित नहुन् । अहिलेको सतही राष्ट्रवाद धार्मिक वा साम्प्रदायिक द्वन्द्वको कारण नबनोस् । भारतको संयमित, सन्तुलित र सुझवुझपूर्ण सामाजिक-आर्थिक परिवर्तन नेपालका लागि पनि लाभदायक बनोस् । यी कामना हामी सबैको साझा हुन् ।

  •  
  •  
  •  

Comments are closed.